२१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026

मध्यरातमा भेट्न बोलाएर किशोरको हत्या, तीन जना पक्राउ



दाङ ।
दाङमा एक किशोरको हत्या भएको छ।

राप्ती गाउँपालिका-२ बाह्रखुट्टीका १७ वर्षीय स्मिथ प्रधानको बिहीबार राति हत्या भएको हो। उनको शव शुक्रबार मध्याह्न राप्ती-४ दोलाइ खोलाको सुक्खा नालामा भेटिएको थियो।

टाउको शरीरको विभिन्न भागमा चोट लागेको अवस्थामा स्मिथ मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दीपक श्रेष्ठले जानकारी दिए।

स्मिथका साथी राप्ती – १ पाखापानीका १६ वर्षीय आयुषमान थापा मगर घाइते छन् । राप्ती आधारभूत अस्पताल सिसहनियाँमा उपचार पछि थप उपचारका लागि उनलाई बुटवल रेफर गरिएको एसपी श्रेष्ठले जानकारी दिए।

स्मिथलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिकाका २० वर्षीय सन्दीप वली, राप्ती गाउँपालिकाका निवासी १८ वर्षीय निश्चल चौधरी र राप्ती गाउँपालिकाकै १८ वर्षीया आकृति बुढा छन्।

एसपी श्रेष्ठका अनुसार प्रारम्भिक अनुसन्धानबाट मध्येरातमा भेट्न बोलाएर कुटपिट गरेको र सो क्रममा स्मिथको हत्या भएको खुलेको छ।

‘नियन्त्रणमा लिएर दुवै हात बाँधिएको, मुखमा कपडा कोचिदिएर बोल्न नदिएको, चक्कुले छाती तथा अनुहारमा पटक(पटक आक्रमण भएको र हत्या पछि घिसारेर नालामा फालेको भन्ने तथ्य खुलेको छ,’ एसपी श्रेष्ठले भने।

जिल्लाका निमित्त प्रहरी प्रवक्ता इन्स्पेक्टर बाबुराम बस्नेतका अनुसार आयुषमानलाई ‘देबीसरा गाहा र स्वस्तिका राना मगर’ नाम उल्लिखित फेसबुक मेसेन्जरबाट भेट्न आऊ भनेर बोलाइएको थियो।

त्यसपछि स्मिथ र आयुषमान बिहीबार बेलुकी ८ बजेतिर घरबाट सँगै राप्ती गाउँपालिका– ४ तर्फ निस्किएका थिए।

बोलाएको ठाउँमा पुग्दा त्यहाँ एक जना युवती (आकृति) थिइन्। उनले दुवैलाई लिएर केही पर एकान्तमा ठाउँमा पुगेपछि आयुषमानलाई ‘तिम्रो लागि अर्को मान्छे आउँछ, यहीँ बस्नू’ भनेर स्मिथलाई मात्रै लिएर गएकी थिइन्।

‘५/७ सय पर सन्दीप र निश्चल बसेका थिए। आकृतिले त्यहाँ पुर्‍याउनासाथ उनीहरुले स्मिथको हात बाँधे, कुटपिट गरेका थिए,’ आरोपीहरूको भनाइ उल्लेख गर्दै इन्स्पेक्टर बस्नेतले भने।

पछि आयुषमानमाथि उनीहरुले कुटपिट गरेका थिए। जसोतसो गरेर उनी भने उम्किएर शुक्रबार बिहान(३ बजे राप्ती गाउँपालिका(४ मौरीघाटस्थित दिदीको साथी गंगा रोकाको घरमा पुगेका थिए।

आयुषमानको ढाड, बाँया आँखा, बाँया गाला, कानमा चोट लागेको थियो। चोट ग्रस्त अवस्थामा पुगेका मगरलाई गंगा लगायतले बिहान ४ बजेतिर उपचारका लागि राप्ती आधारभुत अस्पताल सिसहनिया पुर्‍याएका थिए।

उनले नै घटनाबारे इलाका प्रहरी कार्यालय सिसहनीयामा तत्काल खबर गरेकी थिइन्।

त्यसपछि प्रहरी चौकी मसुरियाबाट प्रहरी सहायक निरीक्षक दिपेन्द्रकुमार मल्ल अस्पताल पुगेका थिए। केही बेरमा सिसहनियाबाट प्रहरी नायव निरीक्षक बुद्धी रानाको टोली पनि पुगेको थियो।

सोधपुछका क्रममा आयुषमानले राति ११ बजे घटना हुँदा आफ्नो साथी स्मिथ पनि साथमै रहेको र उनीमाथि पनि निर्घात कुटपिट भएको उनले प्रहरीलाई बताएका थिए।

त्यसपछि इलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीको नेतृत्वमा ११ जनाको टोली स्मिथको खोजीमा खटिएको थियो।

खोजतलास गर्ने क्रममा घटनास्थलदेखि झन्डै डेढ किलोमिटर पूर्व तर्फ राप्ती – ४ को दोलई खोलाको सुख्खा पक्की नालामा टाउकोमा चोट ग्रस्त अवस्थामा प्रधानको शव मध्याह्न १२ बजेतिर प्रहरीले फेला पारेको थियो ।

यो घटना अनुसन्धानका क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

इप्रका भालुवाङबाट प्रहरी प्रमुख निरीक्षक पुष्कर सिंह ऐरीका अनुसार गएराति १० बजेदेखि बिहान ४ बजेको बीचमा उनीहरु तीन जनालाई विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी श्रेष्ठका अनुसार आकृति बुढा र हत्या गरिएका स्मिथ कक्षा ८ देखि १० सम्म सँगै पढेका थिए।

जिल्लाका निमित्त प्रहरी प्रवक्ता इन्स्पेक्टर बस्नेतका अनुसार उनै आकृतिले फेक आइडी बनाएर कुरा गरी स्मिथ र आयुषमानलाई भेट्न बोलाएकी थिइन्। आकृतिको योजना बनाएको र त्यसमा उनका दुई साथीले सहयोग गरेको प्रहरीले जनाएको छ।

‘कलिलै उमेरको प्रेम सम्बन्ध र बदलाको भावनाका कारण घटना भएको खुलेको छ,’ प्रहरी निरीक्षक ऐरीले भने, ‘थप अनुसन्धानपछि थाहा हुन्छ।’

जिल्ला प्रहरी प्रमुख एसपी श्रेष्ठले प्रहरीले नित्रणमा लिएका तीनै जनाले घटना स्वीकार गरिसकेको बताए। प्रहरीले घटना पुष्टि हुने खालका सबुत प्रमाण फेला पारिसकेको उनले बताए।

प्रधानको शवको पोष्टमर्टम रिपोर्ट भने आउन बाँकी छ। दाङ प्रहरीले पक्राउ परेका तीनै जनामाथि थप सोधपुछ र अनुसन्धान भइरहेको जानकारी दिएको छ।

प्रकाशित मिति : २१ चैत्र २०८२ शनिबार ००:००  १२ : ५५ बजे