मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ कपिलवस्तुको समन्वयमा सोमबार शिवराज–८, विसनपुरमा कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा सहभागीहरूले विभिन्न समस्या, सुझाव तथा जिज्ञासा प्रस्तुत गरेका थिए। वडा नम्बर ८ मा आएको झुल सम्बन्धित व्यक्तिहरूले नपाई अन्यत्र वितरण गरिएको, वडास्तरीय भ्रमणमा बाहिरी व्यक्तिहरूलाई समेत सहभागी गराउने गरिएको, नगरपालिकाबाट भरपाई गराई बजेट दुरुपयोग भएको, कार्यक्रमको प्रभावकारी अनुगमन हुनुपर्ने लगायतका गुनासाहरू उठाइएका थिए।
त्यसैगरी वडाले प्रवर्द्धन गरेको बिउ उत्पादन प्रभावकारी नभएको, सुकुम्बासी बस्तीमा बत्ती नबालिएको, धनखोलामा निर्माण गरिएको स्विमिङ पुल प्रयोगविहीन रहेको, वनकसवासा रिफ्रेस सेन्टर अव्यवस्थित र दुर्गन्धित भएको, बस रोकिने स्थानमा शौचालयको अभावका कारण दुर्गन्ध फैलिएको जस्ता समस्या औंल्याइएका थिए।

शिवपुरदेखि चन्द्रौटासम्म नाली अभावले ढल निकास समस्या रहेको, विसनपुर तालको व्यवस्थापन आवश्यक रहेको, सुकुम्बासी बस्तीको नापी तथा लालपुर्जा वितरण गर्नुपर्ने, बिउ–मल वितरणमा सुकुम्बासीहरू वञ्चित भएको र वितरणमुखी कार्यक्रम रोक्नुपर्ने माग समेत राखिएको थियो।
सहभागीका जिज्ञासाको सम्बोधन गर्दै नगर प्रमुख अजय थापाले सार्वजनिक सुनुवाईलाई बजारमा सीमित नगरी गाउँ तथा सबै वडामा सञ्चालन गरिएको बताउनुभयो। नगरपालिकाले वितरणमुखी कार्यक्रमलाई न्यून गर्दै योजना निर्माणमा प्राथमिकता दिएको उहाँको भनाइ थियो।

शिक्षा क्षेत्रमा उल्लेखनीय लगानी गरेको दाबी गर्दै उहाँले धेरै विद्यालयलाई मर्ज गरी दरबन्दी मिलान गरिएको र अब सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। सबै वडामा बर्थिङ सेन्टर राख्न सम्भव नभएको भन्दै आवश्यकता अनुसार व्यवस्थापन गरिने बताउनुभयो।
उहाँले बल्झिएका कानुनी समस्याका कारण सुकुम्बासी समस्या समाधानमा कठिनाइ भएको र कृषि उत्पादनको मूल्य निर्धारण नगरपालिकाको अधिकार क्षेत्रमा नपर्ने बताउनुभयो । धानखोलाको स्विमिङ पुल प्रयोगविहीन रहेको स्वीकार गर्दै बजेट दुरुपयोग भएको विषयमा ध्यान दिने बताउनुभयो।
सडक तथा नाली सरसफाइमा नागरिकको पनि सक्रिय भूमिका आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो।
उपप्रमुख शिवकुमारी थारुले उठेका सबै विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले प्राप्त सुझावहरूलाई आगामी नीति तथा कार्यक्रममा समावेश गरिने जानकारी दिनुभयो।
नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले नगरको विकास र समृद्धिका लागि नागरिक सचेत हुनुपर्ने बताउनुभयो। सञ्चार माध्यमले विकासका सवालमा निरन्तर कलम चलाउने उहाँको भनाइ थियो।
कार्यक्रममा प्रशासन शाखा प्रमुख नबिन खनालले स्वागत मन्तव्य राख्नुभएको थियो भने लेखा शाखा प्रमुख आरसी मरासिनीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। महासंघका उपाध्यक्ष दिपा महतले नागरिक तथा बहिर्गमन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन माधव बेल्वासेले गर्नुभएको थियो।







प्रतिक्रिया