बाबुराम रायमाझी ।
महिला तथा बालबालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने उद्देश्यले कपिलवस्तुको बाणगंगा नगरपालिका मा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।वाणगंगा नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाद्वारा आयोजित उक्त कार्यक्रम नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रममा नगर प्रमुख चक्रपाणी अर्यालले हिंसाको विरुद्ध जनचेतना अभाव र कानुनी जानकारीको कमीका कारण धेरै महिला तथा बालबालिका अझै पनि हिंसाको शिकार बन्नु परिरहेको बताउनुभयो। मेयर अर्यालले हिंसा न्यूनीकरणका लागि सबै सरोकारवालाले मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी ले हिंसा प्रायः तीन प्रकारले हुने गरेको उल्लेख गर्नुभयो। उहाँका अनुसार बोलेर गर्ने दुर्व्यवहार, कुटपिट जस्ता शारीरिक हिंसा र मानसिक दबाब वा यातना प्रमुख हिंसाका रूप हुन्। साथै साथीभाइको गलत संगत, खानपिन र उठबसको प्रभावले पनि हिंसा बढ्ने गरेको उहाँले बताउनुभयो। नीति, विधि र प्रविधिको सही प्रयोग गर्न नजान्दा पनि हिंसा निम्तिने गरेको उहाँको भनाइ थियो।
त्यसैगरी अधिवक्ता ईश्वरराज न्यौपानेले महिला तथा बालबालिकामाथि हुने हिंसासम्बन्धी कानुनी प्रावधानबारे प्रशिक्षण दिनुभएको थियो। उहाँले कसुर अनुसार कानुनी कारबाही र पीडितले पाउने न्यायिक उपचारबारे विस्तृत जानकारी गराउनुभयो।
कार्यक्रममा बालबालिका तथा महिला शाखाकी कर्मचारी भगवती आचार्य शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो भने शाखा प्रमुख शुसिला पन्थले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा नगरका ११ वटै वडाका मेलमिलाप समिति तथा बाल सहजकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमले महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्ने र कानुनी जानकारी फैलाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।







प्रतिक्रिया