४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026

बुद्धभूमि नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा



कपिलवस्तु । बुद्धभूमि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच उक्त घोषणा गरिएको हो।

कार्यक्रममा स्वास्थ्य शाखाका गोकर्ण अर्यालले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सो अवसरमा बोल्दै जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले पूर्ण खोप अभियानको निरन्तरता र दिगोपनामा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

नगर प्रमुख केशव कुमार श्रेष्ठले कार्यक्रम चुनौतीपूर्ण भए पनि कर्तव्यनिष्ठ भएर लाग्नुपर्ने बताउनुभयो। उहाँले संस्थागत प्रसूति सेवा विस्तारमा अझै चुनौती रहेको उल्लेख गर्दै केही वडा घोषणा भए पनि बाँकी वडामा पनि अभियानलाई अघि बढाइने जानकारी दिनुभयो।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकाल, जिल्ला समन्वय समितिका अधिकारी जर्नादन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत यमकान्त पाण्डेय, वडा नम्बर ४ का वडा अध्यक्ष सुसिल चौधरी, नेपाल पत्रकार महासंघका अध्यक्ष डिलाराम भुसाल लगायतले मन्तव्य राख्दै अभियानलाई दिगोपना दिनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा विभिन्न संघसंस्थाहरूलाई सम्मान समेत गरिएको थियो। कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका गोकर्ण अर्यालले गर्नुभएको थियो।

प्रकाशित मिति : ९ बैशाख २०८३ बुधबार ००:००  ३ : ४५ बजे