९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

बुद्धभूमि नगरस्तरीय क्रिकेटको उपाधि वडा नम्बर ५ लाई



मायादेवी अनलाइन, बुद्धभूमि ।

बुद्धभूमि नगरपालिकामा सम्पन्न नगरस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि वडा नं. ५ ले जितेको छ। बुधबार भएको फाइनल खेलमा वडा नं. ८ लाई पराजित गर्दै वडा नं. ५ विजयी बनेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको वडा नं. ८ ले १४.२ ओभरमा अलआउट हुँदै ७२ रन मात्र बनाउन सक्यो। सामान्य लक्ष्य पछ्याएको वडा नं. ५ ले उत्कृष्ट प्रदर्शन गर्दै ८.२ ओभरमै ५ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

फाइनल खेलमा वडा नं. ५ का जुल्फीकर खान उत्कृष्ट प्रदर्शन गर्दै ‘म्यान अफ द म्याच’ घोषित भए।

उपाधि जितेसँगै वडा नं. ५ ले नगद रु. ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको वडा नं. ८ ले नगद रु. २५ हजारमा चित्त बुझाएको छ।

पुरस्कार वितरण कार्यक्रममा नगरप्रमुख केशव श्रेष्ठले खेलकुदले युवालाई अनुशासित, स्वस्थ र सकारात्मक बनाउने बताउँदै यस्ता प्रतियोगिताले प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। उहाँले नगरपालिकाले आगामी दिनमा खेलकुद क्षेत्रको विकास र प्रोत्साहनका लागि थप कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

प्रकाशित मिति : ९ बैशाख २०८३ बुधबार ००:००  ८ : २८ बजे