वाणगंगा, कपिलवस्तु ।
प्रेस चौतारी नेपाल, कपिलवस्तु शाखाको आयोजनामा क्यालेन्डर विमोचन तथा नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि एवं प्रेस चौतारी नेपाल कपिलवस्तुका संस्थापक अध्यक्ष तथा वाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणि अर्यालले प्रेस चौतारी कपिलवस्तुले संस्थागत पहिचान स्थापित गर्न खेलेको भूमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो। उहाँले पत्रकारहरूलाई सत्य–तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न, समाजमा लुकेका तथा दबिएका आवाजहरू उजागर गर्न र जनताप्रति उत्तरदायी बन्न आग्रह गर्नुभएको थियो ।
साथै, निष्पक्ष र जिम्मेवार पत्रकारिताले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य पार्वती पाण्डेले संस्थाले हरेक वर्ष रचनात्मक तथा सिर्जनात्मक गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण सञ्चारकर्मी तथा आम नागरिकमा सुख, शान्ति र समृद्धिको कामना व्यक्त गर्नुभएको थियो ।
प्रेस चौतारी नेपाल कपिलवस्तुका अध्यक्ष बाबुराम रायमाझीले कार्यक्रममा सहभागी अतिथि तथा पत्रकारहरूलाई धन्यवाद ज्ञापन गर्दै संस्थाले आगामी दिनमा अझ सशक्त र प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले पत्रकारहरूबीच एकता, सहकार्य र पेशागत मर्यादा कायम राख्नु आजको आवश्यकता रहेको उल्लेख गर्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण सचिव संजिब गहतराजले गर्नुभएको थियो भने स्वागत मन्तव्य सदस्य सागर सुनारले व्यक्त गर्नुभएको थियो। कार्यक्रममा उपस्थित अन्य वक्ताहरूले पनि नयाँ वर्षको शुभकामना व्यक्त गर्दै पत्रकारिता क्षेत्रको विकास, पेशागत नैतिकता, एकता र जिम्मेवारीप्रति जोड दिएका थिए।
कार्यक्रममा प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश महासचिव हरि अधिकारी, प्रदेश तथा जिल्ला स्तरीय पदाधिकारी, सदस्यहरू, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको थियो। सो अवसरमा क्यालेन्डर विमोचनसँगै उपस्थितबीच आपसी शुभकामना आदान–प्रदान समेत गरिएको थियो।
कार्यक्रमले नयाँ वर्षको सुरुवातसँगै संस्थागत एकता अझ मजबुत बनाउने, पत्रकारिता क्षेत्रलाई थप सुदृढ र प्रभावकारी बनाउने तथा सञ्चारकर्मीहरूबीच सहकार्य विस्तार गर्ने विश्वास व्यक्त गरिएको छ ।






प्रतिक्रिया