कपिलवस्तु ।
विजयनगर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। बिहीबार गाउँपालिकाको सभाहल खडैचामा आयोजित कार्यक्रममा स्थानीयवासीले शिक्षा, स्वास्थ्य तथा विकास निर्माणसम्बन्धी विभिन्न जिज्ञासा तथा सुझाव प्रस्तुत गरेका थिए।
कार्यक्रममा सहभागीहरूले गाउँपालिकाले शिक्षालाई प्राथमिकता दिनुपर्ने, स्थानीय अस्पतालमा विशेषज्ञ सेवा सञ्चालन गर्नुपर्ने माग राखेका थिए।
गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा मगरले पालिकालाई शैक्षिक क्षेत्रमा अगाडि बढाउन निरन्तर प्रयास भइरहेको उल्लेख गर्दै जनस्तरबाट आएका सुझावहरूलाई सम्बोधन गरिने बताउनुभयो। साथै उहाँले नदीजन्य पदार्थको चोरी निकासी नियन्त्रणका लागि सुरक्षा निकायसँग समन्वय गरिने जानकारी दिनुभयो। टिनको छानो मुक्त अभियानलाई अघि बढाइएको र विद्यालयमा दरबन्दी मिलानतर्फ पनि ध्यान दिइएको उहाँले बताउनुभयो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले पालिकाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालको अध्यक्षता, उपाध्यक्ष खग प्रसाद चापागाईंको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष दीपा महतले नागरिक तथा बहिर्गमन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन माधव बेल्वासेले गर्नुभएको थियो।
१० बैशाख २०८३ बिहिबार ००:००
0
Shares






प्रतिक्रिया