दाङ । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल (NARMIN) को आयोजना तथा पीस नेपाल र बालअधिकारका लागि नागरिक संस्थाहरूको सञ्जाल, लुम्बिनी प्रदेशको समन्वयमा दाङमा लुम्बिनी प्रदेशका बालबालिकाको अवस्था, सवाल र अधिकारका विषयमा एक विशेष अन्तरक्रियात्मक बैठक शनिबार सम्पन्न भएको छ। गौमुखी गाउँपालिका, प्युठानका अध्यक्ष विष्णु कुमार गिरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन (NARMIN) का प्रदेश समन्वय अधिकृत रबिन गौतमले गर्नुभएको थियो भने पीस नेपालका अध्यक्ष मणिप्रसाद घिमिरेले स्वागत मन्तव्यमार्फत कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा सामाजिक विकास मन्त्रालय, सामाजिक विकास शाखाकी महिला विकास निरीक्षक कमला ज्ञवालीले बालबालिकाको अधिकार सुनिश्चितका लागि सवैको पहल र जिम्मेवारी हुनुपर्ने धारणा राख्नुभएको थियो। उहाँले बालबालिकाको अधिकार सुनिश्चित गर्न आफू सदैव लागिपरेको र आगामी दिनमा पनि उनीहरूको हकहितका लागि निरन्तर काम गरिरहने बलियो प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँको यो विशेष प्रतिबद्धतालाई कार्यक्रममा निकै महत्त्वका साथ हेरिएको छ, जसले सरकारी तहबाटै बालअधिकार संरक्षणमा थप ऊर्जा थपेको छ।
बैठकमा सामुदायिक संस्थाका प्रतिनिधि, बाल क्लबका सदस्यहरू तथा (NARMIN)का पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमका सहभागीहरूले बालबालिकाका सवालहरू कुनै एउटा निकायको मात्र नभई सबैको साझा सवाल भएको र यसका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो। सहभागीहरूले बालअधिकारका क्षेत्रमा आ(आफ्नो तर्फबाट पूर्ण सहयोग र समन्वय गर्ने ऐक्यबद्धता समेत प्रकट गरेका छन्।
बालबालिकाको आवाजलाई नीतिगत तहसम्म पुर्याउने मुख्य उद्देश्यका साथ सञ्चालन भएको यस कार्यक्रममा पीस नेपालका योगेन्द्र बुढा र विजय अधिकारीले सहजीकरण गर्नुभएको थियो। यस कार्यक्रमले सरोकारवाला निकायहरूबीच जिम्मेवारी, प्रतिबद्धता र सहकार्यको भावनालाई अझ मजबुत बनाउँदै लुम्बिनी प्रदेशका बालबालिकाको भविष्यलाई सुनिश्चित गर्न ठोस मार्गनिर्देश गर्ने विश्वास लिइएको छ।







प्रतिक्रिया