२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

कपिलवस्तु जग्गा तथा आवास विकास संघको दोस्रो साधारण सभा सम्पन्न



वाणगंगा ।

कपिलवस्तु जग्गा तथा आवास विकास संघको दोस्रो साधारण सभा शनिबार वाणगंगाकाे चारनम्बरमा सम्पन्न भएको छ। कार्यक्रम संघका जिल्ला अध्यक्ष विश्वराज पौडेलको अध्यक्षता तथा सचिव शालिकराम आचार्यको सञ्चालनमा सम्पन्न भएको हो।

साधारण सभाका प्रमुख अतिथि रुपन्देही जग्गा तथा आवास विकास संघका उपाध्यक्ष कृष्णबहादुर कुँवरले जग्गा व्यवसायीहरू संगठित भएर कारोबार गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले कारोबारलाई व्यवस्थित, सुरक्षित र पारदर्शी बनाउन पनि व्यवसायीहरूबीच एकता आवश्यक रहेको औंल्याउनुभयो। साथै, कपिलवस्तु आवास विकास संघले छोटो समयमै सामाजिक तथा रचनात्मक कार्यमार्फत महासंघमा राम्रो पहिचान बनाउन सफल भएकोमा उहाँले प्रशंसा गर्नुभयो।

उहाँले जग्गा कारोबारलाई संस्थागत गर्दै संघमा आबद्ध सदस्यहरूबीच समन्वय र सम्बन्ध विस्तारले सबैलाई लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो। साथै, राज्यले किनबेचमा कर बढाएर १० प्रतिशत पुर्‍याएको सन्दर्भमा व्यवसायीहरू सजग र सचेत रहनुपर्ने बताउनुभयो।

कार्यक्रममा अध्यक्ष विश्वराज पौडेलले संस्थाको स्थापना क्रममा विभिन्न कठिनाइ र आर्थिक चुनौती सामना गर्नुपरेको उल्लेख गर्नुभयो। उहाँले जिल्लालाई महासंघको आजीवन सदस्य बनाउन सफल भएको, विभिन्न केन्द्रीय कार्यक्रममा सहभागिता जनाएको, नियमित बैठक तथा सामाजिक गतिविधिमा सक्रिय रहेको जानकारी दिँदै वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो।

त्यस्तै, संघका सल्लाहकार चिरञ्जीवी पन्तले व्यवसायीहरूबीच समन्वय आवश्यक रहेको बताउँदै हाउजिङ लगायत विभिन्न क्षेत्रमा संघमार्फत लगानी गरी नयाँ व्यावसायिक सम्भावनाहरू सिर्जना गर्न सकिने धारणा राख्नुभयो।

साधारण सभामा कोषाध्यक्ष कृष्णप्रसाद पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संघ स्थापना भएदेखि हालसम्म सदस्यहरूको सहयोग, सदस्यता शुल्क तथा विभिन्न गतिविधिमा खर्च हुँदा संस्थाले घाटा व्यहोरेको जानकारी दिनुभयो।

हाल संघमा जग्गा तथा आवास कारोबारसँग सम्बन्धित ३५ जना सदस्यहरू आबद्ध रहेका छन्।

प्रकाशित मिति : २३ जेष्ठ २०८३ शनिबार ००:००  ३ : ४८ बजे