२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

कपिलवस्तुमा पत्रकारका लागि एआई प्रयोगसम्बन्धी तालिम



बुद्धभूमि, कपिलवस्तु। पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावकारी प्रयोगबारे ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले कपिलवस्तुमा एआईसम्बन्धी तालिम सञ्चालन गरिएको छ।

बुद्धभूमि नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघ कपिलवस्तुको आयोजनामा गोरुसिंगेमा आजदेखि तीनदिने तालिम सुरु भएको हो। तालिममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार तथा सञ्चारकर्मीहरूको उत्साहजनक सहभागिता रहेको छ।

यसैगरी, विजयनगर गाउँपालिकाको सहयोग तथा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको आयोजनामा चन्द्रौटामा सञ्चालित पत्रकारितामा एआई प्रयोगसम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै विजयनगर गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले प्रविधिको जिम्मेवार र रचनात्मक प्रयोगले पत्रकारितालाई थप प्रभावकारी, विश्वसनीय र समयसापेक्ष बनाउन सहयोग पुग्ने बताउनुभयो। नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले पत्रकारहरूको प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिनुभयो।

तालिममा एआईका विभिन्न टुलहरूको प्रयोग, समाचार लेखन, सम्पादन, तथ्य परीक्षण (फ्याक्ट चेकिङ), रिपोर्टिङ तथा डिजिटल सामग्री निर्माणमा एआईको प्रभावकारी उपयोगबारे व्यावहारिक प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ।

प्रशिक्षक सुफल काफ्ले र रजनीश भण्डारीले सहजीकरण गरिरहेको तालिम सूचना प्रविधिको तीव्र विकाससँगै पत्रकारितालाई थप गुणस्तरीय, छरितो र प्रविधिमैत्री बनाउन उपयोगी हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल, संस्थापक अध्यक्ष नारायणप्रसाद पौडेल, निवर्तमान अध्यक्ष किरणमान बज्राचार्यलगायतको उपस्थिति रहेको थियो।

तालिमले पत्रकार तथा सञ्चारकर्मीहरूलाई आधुनिक प्रविधिसँग अभ्यस्त बनाउँदै डिजिटल युगको पत्रकारितामा दक्षता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। प्रशिक्षण कार्यक्रमका महासंघका अध्यक्ष डिलाराम भुसालले पत्रकारितामा एआईको प्रयोग समयको आवश्यकता रहेको बताउँदै यसले समाचार संकलन, विश्लेषण र प्रस्तुतीकरणलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले पत्रकारहरूले प्रविधिको सही र जिम्मेवार प्रयोग गर्दै व्यावसायिक दक्षता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो।

प्रकाशित मिति : २३ जेष्ठ २०८३ शनिबार ००:००  ९ : ०६ बजे