बुद्धभूमि, कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा सञ्चालित पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावकारी प्रयोगसम्बन्धी तीनदिने तालिम सम्पन्न भएको छ। बुद्धभूमि नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघ कपिलवस्तुको आयोजनामा सञ्चालन गरिएको तालिमको समापन गरिएको हो।
समापन कार्यक्रममा बोल्दै नगरप्रमुख केशव कुमार श्रेष्ठले प्रविधिको बढ्दो प्रयोगसँगै पत्रकारहरूले पनि आफूलाई समयअनुकूल परिमार्जन गर्दै लैजानुपर्ने बताउनुभयो। उहाँले पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रम सञ्चालन गर्न नगरपालिका तयार रहेको उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा मुख्य प्रशिक्षक रजनिश भण्डारीले एआईको प्रयोगले पत्रकारितालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने भए पनि यसको दुरुपयोग बढ्दै गएको बताउनुभयो। उहाँले गलत सूचना र भ्रम चिर्न तथा सत्यतथ्य सार्वजनिक गर्न पत्रकारहरूले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो।
त्यसैगरी नारायण प्रसाद पौडेल र जानु पाण्डेले तालिम प्रभावकारी रहेको बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले जिल्लाका पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि महासंघले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो।
कार्यक्रमको सञ्चालन महासंघकी उपाध्यक्ष दीपा महत ले गर्नुभएको थियो। तालिममा जिल्लाका दर्जनौँ पत्रकारहरूको सहभागिता रहेको थियो।







प्रतिक्रिया