२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

प्युठानको जिल्ला बाल भेला सम्पन्न : अध्यक्षमा मनोज पोखरेल



प्युठानमा बालबालिकाहरुको जिल्ला भेला एक समारोहबीच खलंगामा सम्पन्न भएको छ । जिल्ला बाल अधिकार समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख धरम बहादुर जीसीको अध्यक्षतामा प्यूठान जिल्लाको पाँचौं जिल्ला स्तरीय बाल भेला, बाल क्लब सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम खलङ्गा, प्यूठानमा सम्पन्न भएको हो । सेभ द चिल्ड्रेन इन्टरनेसनल, पिस नेपाल तथा बाल अधिकारका लागि नागरिक संस्थाहरूको सञ्जाल लुम्बिनी प्रदेशको प्राविधिक सहयोगमा उक्त भेलाको आयोजना गरिएको थियो ।
कार्यक्रममा प्यूठान जिल्लाको समग्र बालबालिकाको अवस्था र बालबालिका विभिन्न सवालहरुको बारेमा वृहत रुपमा छलफल भएको थियो । बालबालिकाका हक हित र अधिकारका सवालहरु, बालबालिकाको अर्थपुर्ण सहभागिता, स्थानीय तहमा बाल समूह सञ्जालले खेलेका प्रयासहरुका बारेमा बालबालिकाहरुले आफ्ना अर्थपुर्ण अनुभवहरु आदान प्रदान गर्नु भएको थियो ।
बालबालिकाले भोग्नु परेका समस्याहरु जस्तै हिँसा, दुरव्यवहार, बालविवाह, बालश्रम र विभिन्नन सामाजिक तथा आर्थिक कारणले विद्यालयको पहुचबाट बञ्चिच हुन पेरका समस्याहरु र उक्त समस्या समाधानमा बाल समूह सञ्जालले खेलेको भूमिकाहरुका बारेमा पनि बताएका थिए ।
कार्यक्रममा बालबालिकाका हक अधिकारको सुनिश्चितताको लागि सबै जिम्मेबार भएर लाग्नुपर्ने र जिल्ला बाल सञ्जालले बालबालिकाको अधिकार प्रवर्द्धनका लागि आप्नो तर्फबाट निर्वाह गर्नुपर्ने भुमिका प्रभावकारी हुनपर्ने र यसका लागि जिल्ला बाल अधिकार समितिको तर्फबाट हर प्रयास रहने प्रतिवद्धता जिल्ला समन्वय समितिका प्रमुह धरम बहादुर जिसीले बताए । यसैगरी गतवर्षको चौथो बाल भेला सम्मका विभिन्न अनुभवहरु र प्रयासहरु सहित पाँचौ जिल्ला बाल भेला पश्चात बाल क्लव सञ्जालले सक्रियतापूर्वक लाग्नु पर्ने र बालक्लव सञ्जालको क्षमता विकास, सक्रियता र बालबालिकाको हकहितका लागि नेतृत्वदायी भूमिका खेल्न बाल अधिकारका लागि नागरिक सञ्जाल लुम्बिनीले पनि हरप्रयास गर्ने सञ्जालका सदस्य राजेन्द्र राजभण्डारीले बताए ।
सोही अवसरमा बाल भेलाबाट सर्वसम्मत रुपमा जिल्ला बाल सञ्जाल गठन गरिएको छ। गठित जिल्ला बाल सञ्जालको अध्यक्षमा मनोज पोखरेल चयन हुनुभएको छ भने उपाध्यक्षमा पृथा श्रेष्ठ, सचिवमा शिक्षा बस्नेत, सहसचिवमा सिम्रन शर्मा र कोषाध्यक्षमा भेषमान कार्की चयन हुनुभएको हो।
त्यस्तै सदस्यहरूमा सागर गिरी, मनिषा अधिकारी र साधना शर्मा रहनुभएको छ। समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले दलित, अपाङ्गता भएका तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक बालबालिकालाई पछि मनोनयन गर्ने निर्णय पनि गरिएको छ।जिल्ला बाल क्लव सञ्जालले विभिन्न २१ वटा मागहरु जिल्ला समन्वय समितिका प्रमुखलाई हस्तान्तरण गरी सबैको ध्यानाकर्षण समेत गरेको छ ।
कार्यक्रममा सामाजिक विकास डिभिजन प्रमुख रामकरण पाल, लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका महिला विकास निरीक्षक कमला ज्ञवाली, पिस नेपालका कार्यकारी निर्देशक मणि प्रसाद गैह्रे, नेपाल पत्रकार महासंघका श्रीराम भण्डारी, स्थानीय तहहरुबाट महिला तथा बालबालिका शाखाका प्रमुख लगाएतको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन लुम्बिनी प्रदेश बाल क्लब सञ्जालकी सहसचिव शितल भण्डारीले गर्नुभएको थियो।

प्रकाशित मिति : २ असार २०८३ मंगलबार ००:००  ८ : ०८ बजे