मायादेवी अनलाइन, तौलिहवा।
कपिलवस्तुमा सञ्चालित पोषणमार्फत जीवन रूपान्तरण परियोजनाले लक्षित समुदायको जीविकोपार्जन, पोषण सुधार तथा आयआर्जनमा सकारात्मक योगदान पुर्याएको सरोकारवालाले बताएका छन्।
हेलेन केलर इन्टरनेसनल, आरडी नेपाल तथा कालिका स्वावलम्बन सामाजिक केन्द्रको आयोजनामा कपिलवस्तुका चार स्थानीय तहमा सञ्चालित पोषणमार्फत जीवन रूपान्तरण परियोजनाको पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देसक समितीको बैठकमा बोल्दै सहभागीहरूले परियोजनाले विपन्न तथा कुपोषण प्रभावित परिवारको जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका खेलेको बताएका हुन्।
परियोजनाअन्तर्गत लक्षित समुदायका लागि पोषणमैत्री करेसाबारी, गँड्यौला मल उत्पादन तथा बिक्री–वितरण, सामुदायिक विद्यालयमा खानेपानी शुद्धीकरणका लागि फिल्टर जडान, तथा कुपोषित परिवारको आयआर्जनमा सहयोग पुग्ने उद्देश्यले बाख्रा वितरण लगायतका कार्यक्रम सञ्चालन गरिएको छ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले विजयनगर, यशोधरा, शुद्धोधन र मायादेवी गाउँपालिकामा सञ्चालित परियोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके लक्षित समुदायको जीवनस्तरमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गर्नुभयो।
उहाँले नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहले नागरिकको स्वास्थ्य र पोषण सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै गैरसरकारी संस्थाले सञ्चालन गर्ने यस्ता कार्यक्रम आवश्यकता भएका र लक्षित वर्गसम्म प्रभावकारी रूपमा पुग्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रम सञ्चालन गर्दा आफ्नो–पराई नभनी वास्तविक आवश्यकता भएका विपन्न परिवारलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ थियो।
जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले परियोजनाको स्थलगत अनुगमनमा आफूहरू सहभागी भएको जानकारी दिँदै समग्रमा परियोजनाअन्तर्गत भएका काम सन्तोषजनक रहेको बताउनुभयो। उहाँले कार्यक्रमलाई अझ प्रभावकारी बनाउन अनुदान वितरण गर्दा लाभग्राहीको आवश्यकता, क्षमता, रुचि र दिगोपनालाई ध्यान दिनुपर्ने सुझाव दिनुभयो।
सामुदायिक विद्यालयमा फिल्टरमार्फत शुद्ध खानेपानी उपलब्ध गराउने कार्य प्रशंसनीय रहेको उल्लेख गर्दै उहाँले यस्ता कार्यक्रमलाई थप विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। अनुदानका सामग्री वितरणमा आएका केही गुनासोलाई सुधार गर्दै अघि बढ्न पनि सुझाव दिनुभयो।
कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख घनश्याम चौधरी र गैरसरकारी संस्था महासंघ कपिलवस्तुका जयप्रकाश पाण्डेले कृषकले उत्पादन गरेका कृषि उपजको उचित बजारीकरण गर्न सके परियोजनाको प्रभाव अझ बढ्ने धारणा राख्नुभयो।
विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापा मगरले परियोजनाबाट गाउँपालिकाका लक्षित परिवार प्रत्यक्ष रूपमा लाभान्वित भएको बताउनुभयो। शुद्धोधन गाउँपालिकाका उपाध्यक्षले कार्यक्रम सञ्चालन गर्दा पालिका र वडा कार्यालयसँग प्रभावकारी समन्वय गर्नुपर्ने तथा अनुदान वास्तविक लाभग्राहीलाई नै उपलब्ध गराउनुपर्ने सुझाव दिनुभयो।
बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरे, जिल्ला समन्वय अधिकारी जनार्दन अधिकारी, कालिका स्वावलम्बन सामाजिक केन्द्रका अध्यक्ष मन्दीप सिंह, कोषाध्यक्ष प्रवीण श्रीवास्तव, पत्रकार तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।
समीक्षा बैठकअघि परियोजनाअन्तर्गत सञ्चालित कार्यक्रमहरूको जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, गैरसरकारी संस्था महासंघ तथा सञ्चारकर्मीहरूको सहभागितामा चारवटै पालिकामा स्थलगत अनुगमनसमेत गरिएको आयोजकले जनाएको छ।













प्रतिक्रिया