मायादेवी अनलाइन, बाणगंगा।
कपिलवस्तुको श्रृंगीघाट सामुदायिक वन उपभोक्ता समूहले घुम्ती कोषलाई व्यवस्थित, पारदर्शी र दिगो रूपमा सञ्चालन गर्ने उद्देश्यले दुईदिने तालिम सम्पन्न गरेको छ।
आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत समूहमा आबद्ध १४ मौजाका प्रतिनिधिहरूलाई लक्षित गरी सञ्चालन गरिएको तालिम सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाको प्राविधिक तथा सहजीकरण सहयोगमा सम्पन्न भएको हो।

तालिममा घुम्ती कोषको प्रभावकारी सञ्चालन, लेखा व्यवस्थापन, वित्तीय अनुशासन, बचत तथा लगानी व्यवस्थापन, पारदर्शिता र जवाफदेहितासम्बन्धी विषयमा सहभागीहरूलाई व्यवहारिक प्रशिक्षण दिइएको थियो।
तालिमले प्रतिनिधिहरूको क्षमता अभिवृद्धि गर्दै घुम्ती कोषलाई अझ प्रभावकारी र दिगो रूपमा सञ्चालन गर्न टेवा पुग्ने विश्वास समूहले लिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै श्रृंगीघाट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुशील सिंह ठकुरीले सामुदायिक वन संरक्षणसँगै उपभोक्ताको आर्थिक सशक्तीकरण पनि समूहको प्रमुख प्राथमिकता रहेको बताए।
‘तालिमबाट प्राप्त ज्ञान र सीपलाई प्रत्येक मौजामा व्यवहारमा उतार्न सकियो भने घुम्ती कोष अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी बन्नेछ,’ अध्यक्ष ठकुरीले भने, ‘यसले वन उपभोक्ताको आर्थिक अवस्था सुधार्नुका साथै सामुदायिक वनप्रति उनीहरूको अपनत्व र जिम्मेवारीसमेत बढाउने विश्वास लिएका छौँ।’
कार्यक्रम सफल बनाउन प्राविधिक तथा सहजीकरण सहयोग गर्ने सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाप्रति अध्यक्ष ठकुरीले धन्यवाद व्यक्त गर्दै प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार प्रकट गरे।













प्रतिक्रिया