मायादेवी अनलाइन, तौलिहवा ।
स्थानीय तहमा लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढ बनाउन कपिलवस्तुका सरोकारवालाबीच नीति संवाद कार्यक्रम सम्पन्न भएको छ । गभर्नेन्स ल्याबको आयोजनामा कपिलवस्तु नगरपालिकामा बिहीवार आयोजित ‘लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि सरोकारवालासँग पालिका स्तरीय नीति संवाद’ कार्यक्रममा स्थानीय सरकारको नीति, योजना, बजेट र सेवा प्रवाहलाई सबै नागरिकमैत्री तथा समावेशी बनाउने विषयमा छलफल गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवले लैङ्गिक समानता र सामाजिक समावेशिता सुशासनका आधारभूत पक्ष भएको बताउनुभयो ।
उहाँले महिला, अपाङ्गता भएका व्यक्ति, दलित, जनजाति तथा पछाडि पारिएका समुदायलाई विकासका अवसरमा समान पहुँच सुनिश्चित गर्नु स्थानीय तहको प्रमुख दायित्व भएको उल्लेख गर्नुभयो ।
नीति निर्माण र कार्यान्वयन प्रक्रियामा सबै वर्ग र समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सके मात्र समृद्ध, न्यायपूर्ण र समावेशी समाज निर्माण सम्भव हुने उहाँको भनाइ छ ।
यस्ता नीति संवाद कार्यक्रमले स्थानीय सरकार र सरोकारवालाबीच सहकार्य तथा समन्वयलाई थप प्रभावकारी बनाउने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा गभर्नेन्स ल्याबकी लुम्बिनी प्रदेश संयोजक राधा अधिकारीले लैङ्गिक उत्तरदायी तथा समावेशी शासनको अवधारणा, स्थानीय तहको भूमिका, नागरिक सहभागिता र समावेशी विकासका विषयमा सहजीकरण गर्नुभएको थियो ।
सहभागीहरूले स्थानीय तहको योजना तर्जुमा, बजेट विनियोजन र सेवा प्रवाहमा लैङ्गिक उत्तरदायित्व तथा सामाजिक समावेशीकरणलाई व्यवहारमै प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।
कार्यक्रमको अध्यक्षता कपिलवस्तु नगरपालिकाका सामाजिक विकास समिति संयोजक तथा वडा नम्बर ५ का वडाध्यक्ष दिरेप कुमार चौधरीले गर्नुभएको थियो । लुम्बिनी अपाङ्गता विकास केन्द्रका अध्यक्ष ओरीराम चौरसियाको सञ्चालनमा भएको कार्यक्रममा नगरपालिकाका सबै वडाध्यक्ष, जनप्रतिनिधि, शाखा प्रमुख, जिल्ला प्रहरी कार्यालयको महिला सेलका प्रतिनिधि, गैरसरकारी संस्था महासंघ कपिलवस्तु, साथी संस्था, दलित महिला संघ, नवजीवन संस्थालगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै कपिलवस्तु नगरपालिकाका सामाजिक शाखा प्रमुख पदमराज श्रेष्ठले कपिलवस्तु नगरपालिकाले लैंगिक समानता, अपांगतातथा सामाजिक समावेशीकरण इकाईहरु (जेड्सी) लाई सम्बोधन हुनेगरी पालिकाले बजेट विनियोजन गरेको भन्दै नगरपालिका महिला, बालबालिका जेष्ठ नागरिक तथा अपांगता भएकाहरुको सवालमा गम्भीर रहेको बताउनुभयो । यस्तै नवजीवन संस्थाका कार्यक्रम संयोजक प्रेरणा बिष्टले कपिलवस्तुका केहि पालिकाहरुले तेस्रो लिंगी समुदायका लागि बजेट विनियोजन गर्ने गरेको भन्दै वडातहबाट पनि यस्ता कार्य भएमा सहज हुने बताउनुभयो ।
समाजमा अझैपनि तेस्रो लिंगी समुदायलाई हेर्ने दृष्टीकोण परिवर्तन हुननसकेको गुनासो गर्नुभयो । यस्तै साथी संस्थाकी विमला घिमिरेले पालिकाहरुले हिंशा पिडितको लागि बजेट विनियोजन गरेपनि कोषको परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै कपिलवस्तुका पालिकाहरुमा लक्षित समुदायका लागि बजेट विनियोजन गएपनि योजना तथा निती निर्माणमा उक्त वर्ग समेटिन नसकेको बताएका थिए ।
आयोजकका अनुसार यस्ता नीति संवादले स्थानीय तहमा सुशासन, समान अवसर र समावेशी विकासलाई संस्थागत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । लुम्बिनी अपांगता बिकास केन्द्रका अध्यक्ष ओरीराम चौरसियाको संचालनमा रहेको कार्यक्रममा वडाध्यक्षहरु प्रकाश गैरे, रवेन्द्रनाथ तिवारी, रामजित कुर्मी, शिवकुमार पाण्डेय, इन्सान अलि धुनिया, वडासदस्य शोहरत तेली, गैरसरकारी संस्था महासंघ कपिलवस्तु अध्यक्ष जयप्रकाश पाण्डे, साथी संस्था प्रमुख बिमला घिमिरे, दलित महिला संघका अध्यक्ष माया नेपाली, नवजीवन संस्थाका कार्यक्रम संयोजक प्रेरणा बिष्ट, जिल्ला प्रहरी कार्यालयका महिला सेल प्रमुख लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।







प्रतिक्रिया