१८ भदौ २०८३, बिहिबार | Thu Sep 3 2026

जनजागरण सामुदायिक वनको २५औँ साधारण सभा सम्पन्न



बाबुराम रायमाझी भलवाड, भदौ १८ ।

‘रुख रोपौँ, वन जोगाऔँ’ भन्ने मूल नाराका साथ कपिलवस्तुको वाणगंगा नगरपालिका ९ भलवाड चौवाहमा रहेको जनजागरण सामुदायिक वन उपभोक्ता समूहको २५औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
साधारण सभामा समूहकी सचिव रीता रायमाझीले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सामुदायिक वनले गरेका विभिन्न गतिवधिकाे वारेमा जानकारी गराएकी थिइन् । त्यस्तै, समूहका कोषाध्यक्ष जनक खत्रीले आर्थिक वर्ष २०८२/०८३ को ४३ लाख ४५ हजार रुपैयाँ बराबरको आयव्यय विवरण साधारण सभामा सार्वजनिक गरेका थिए। लेखा समितिका संयोजक टेकेन्द्र जिसीले आवश्यक सुझावसहित लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए।
साधारण सभामा समूहका अध्यक्ष देवीराम पौडेलले जनजागरण सामुदायिक वनको आगामी रणनीति तथा योजनाका विषयमा धारणा राख्दै वन संरक्षणसँगै उपभोक्ताको हित र सामुदायिक विकासमा वनको स्रोतलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि वाणगंगा नगरपालिका ९ का वडा अध्यक्ष कमल पौडेलले सामुदायिक वनको संरक्षण, संवर्द्धन र विकाससँगै वनबाट प्राप्त स्रोतलाई उत्पादनमूलक तथा आय आर्जनका क्षेत्रमा लगानी गर्नुपर्ने बताएका थिए । उनले सामुदायिक वनले वडा कार्यालयसँग समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा सामुदायिक बनको तर्फबाट कोइलीचौर साना किसान सामुदायिक वनका अध्यक्ष कुन्तामणि भुसाल तथा पत्रकार बाबुराम रायमाझीले आ–आफ्नो धारणा राख्दै सामुदायिक वनको २५औँ साधारणसभा सफलताको शुभकामना दिएका थिए। उनीहरूले वन संरक्षणसँगै वनबाट प्राप्त हुने स्रोत र साधनलाई स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकासमा उपयोग गर्नुपर्ने धारणा राखेका थिए। जनजागरण सामुदायिक वनका अध्यक्ष देवीराम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन समूहका कोषाध्यक्ष जनक खत्रीले गरेका थिए।
जनजागरण सामुदायिक वन ८० दशमलव ४६ हेक्टर क्षेत्रफलमा फैलिएको छ। सामुदायिक वनबाट १ सय १८ घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुँदै आएका छन्। वनले स्थानीय उपभोक्तालाई वन पैदावार उपलब्ध गराउनुका साथै वातावरण संरक्षण, हरियाली प्रवर्द्धन र सामुदायिक विकासमा समेत योगदान पुर्‍याउँदै आएको छ।

प्रकाशित मिति : १८ भदौ २०८३ बिहिबार ००:००  ९ : ४३ बजे