२७ भदौ २०८३, शनिबार | Sat Sep 12 2026

भोटेकोशी बाढीपछि कोही आफन्तको पर्खाइमा, कोही अन्तिम संस्कारमा



रेखीराम राना
तानसेन ।
भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तमध्ये कसैले कुशको शव बनाएर अन्तिम संस्कार गर्न थालेका छन् भने कोही अझै सास वा लाश भेटिने आशामा छन् । भदौ १० गतेको बाढीपछि पाल्पाका ११ जना बेपत्ता भएकामा नौ जनाको अवस्था हालसम्म पनि थाहा हुन सकेको छैन ।

रामपुर–३ का युवराज (रामु) सुती र उहाँका छोरा अमृत बेपत्ता भएको दुई साता बितिसक्दा पनि श्रीमती सरिताले उहाँहरू फर्किने आशा मार्नुभएको छैन । युवराजकी श्रीमती सरिताले श्रीमान् र छोरा बेपत्ता भएपछि भोक र निद्रा हराएको बताउनुभयो ।
“बेपत्ता श्रीमान् र छोरा अझै फर्किनुहुन्छ भन्ने आशामा बसेकी छु,” उहाँले भन्नुभयो, “भेटिनुभएन भने केही दिनपछि के गर्ने भन्नेबारे सल्लाह गर्नेछौँ ।”

हाइड्रोपावर कम्पनीको ठेक्का लिएर पछिल्लो आठ वर्षदेखि युवराज रसुवा क्षेत्रमा कार्यरत हुनुहुन्थ्यो । दुई वर्षअघि छोरालाई समेत आफूले काम गर्ने क्षेत्रमा लगेको र बाढीपछि बाबु–छोरा बेपत्ता भएको सरिताले बताउनुभयो ।

यस्तै, रैनादेवी छहरा–१ का सशस्त्र प्रहरीमा कार्यरत अनबहादुर कुमालकी श्रीमती सुशीलाले श्रीमान्को पर्खाइमा दुई साता बितेको बताउनुभयो ।

“श्रीमान् जीवित भेटिनुहुन्छ भन्ने अहिले पनि आशा छ,” उहाँले भन्नुभयो, “अहिले हामीले अन्तिम संस्कार गर्ने भन्ने सोचेका छैनौँ ।”

श्रीमान् बेपत्ता भएको दिनदेखि नै खोजी कार्य जारी राखिए पनि अवस्था पत्ता लाग्न नसकेको उहाँले बताउनुभयो । श्रीमान्का दाजुहरू खोजीका लागि चितवन, गोरखा र पोखरा गए पनि उहाँको अवस्थाबारे जानकारी हुन नसकेको सुशीलाले बताउनुभयो ।

बेपत्ता नौ जनामध्ये तानसेन–३ का तिलकबहादुर रानाको परिवारले भने अन्तिम संस्कार गरेको छ । राना बेपत्ता भएको दुई सातापछि कुशको शव बनाएर छोरा प्रतीक र श्रीमती फूलमायाले अन्तिम संस्कार गर्नुभएको हो ।

बेपत्ता भएको दुई साता बितिसक्दा पनि रानाको सास वा लाश भेट्टाउन नसकेपछि आफन्तले पाल्पा र स्याङ्जास्थित कालीगण्डकी किनारमा अन्तिम संस्कार गरेको बताएका छन् । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको मर्मतका लागि रसुवा जानुभएका राना बाढीपछि सम्पर्कविहीन हुनुभएको थियो ।

बाढीपछि बेपत्ता भएका तानसेन–७ का निलम कार्की, रिब्दीकोट–३ का विकास नेपाल, रिब्दीकोट–५ का कृष्णबहादुर बस्याल, तिनाउ–२ का रमेश थापा र बगनासकाली–५ का किशोर न्यौपाने क्षेत्रीका परिवार जीवित वा मृत अवस्थामा भेटिने आशामा छन् ।

बाढीपछि बेपत्ता हुनुभएका तानसेन–१० का प्रहरी सहायक हवल्दार दीपेन्द्र विष्टको शव भने फेला परेको थियो । निस्दी–३ का बोमबहादुर सोमै चार दिनपछि परिवारको सम्पर्कमा आउनुभएको थियो ।

प्रकाशित मिति : २७ भदौ २०८३ शनिबार ००:००  ७ : २६ बजे