रेडियो   टिभी

क्वारेन्टाइनमा बस्ने सम्पूर्णको खर्च कृष्णनगर नगरपालिकाले ब्यहोर्ने


अजय मिश्र, कृष्णनगर ।
कृष्णनगरमा स्थापना गरिएको क्वारेन्टाइनमा बस्ने सम्पूर्णको खर्च नगरपालिकाले ब्यहोर्ने भएको छ । भारतसंग सीमा जोडिएको मुख्य नाका कृष्णनगरमा अन्य नाका भन्दा बढी नेपालीको चाप हुने गर्छ । कृष्णनगर नगरपालिकाका नगर प्रमुख लगायत वडा अध्यक्ष र नगरपालिकाको स्वास्थ्य शाखाले उक्त निणर्य गरेको हो ।

भारतबाट आउने नेपालीलाई प्रहरीको सहयोगमा कृष्णनगर नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा ल्याइन्छ र स्वास्थ्य परिक्षण गरिन्छ ।
आवश्यकता अनुसार क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिन्छ क्वारेन्टाइनमा बस्नेको खाना, नास्ता, दैनिक सरसफाई लगायत अन्य आवश्यकताको सम्पूर्ण खर्च कृष्णनगर नगरपालिकाले दिदै आएको छ । भाडा र सकेसम्म नजिक भए घरसम्म समेत पुर्याउने व्यवस्थापन मिलाइएको नगर प्रमुख रजत प्रताप शाहले दाबी गरे ।

कृष्णनगर नगरपालिका वडा नं. २ र ३ मा रहेको महेन्द्र मा.वि. मा ३० बेडको क्वारेन्टाइन तयार भैसकेको छ भने थप २० बेडको क्वारेन्टाइन तयार गरिदै छ । वडा नं. ८ र ९ को लागि जुमिला आधारभूत विद्यालय मा ८ बेडको क्वारेन्टाइन र बाकी वडामा समेत ४, ४ बेडका दरले क्वारेन्टाइन निर्माण भै सकेको नगरपालिकाले जानकारी दिएको छ ।
साथै क्वारेन्टाइनको सुरक्षाका लागि दिउँसो ५ र रातीमा ७ जना सुरक्षाकर्मी पठाएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेलले जानकारी दिए ।
साथै सशस्त्र प्रहरीले समेत ७ ७ जना दिउसो र रात्री मा सुरक्षा का निम्ति पठाएको सशस्त्र प्रहरी बल ३९ नं. गुल्मका गुल्मपति सुशिल शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस