१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

विजयनगरले बाँड्यो ५ सय २० जना छात्रा विद्यार्थीहरुलाई शैक्षिक सामग्री



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले छात्रा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेकोे छ ।

मंगलबार गाउँपालिकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विभिन्न विद्यालयमा अध्ययनरत छात्राहरुलाई झोला, कपी र विद्यालय पोशाक वितरण गरेको हो ।

शिक्षा शाखाका प्रमुख हरिहर बेल्वासेका अनुसार कक्षा ६ का ५ सय २० जना छात्रालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

८ वटा आधारभूत विद्यालय र ६ वटा माध्यमिक विद्यालय गरी १४ वटा विद्यालयका छात्राहरुलाई शैक्षिक सामग्री वितरण गरिएको बेल्वासेले बताए ।

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउनको लागि विगतका वर्षदेखि नै शैक्षिक सुधार कार्यक्रम लागू गरिएको जनाए ।

यस शैक्षिक सुधार कार्यक्रम लागू भएदेखि छात्राहरुले विद्यालय छोड्ने क्रम घट्दै गएको उनले दाबी गरे । छोरी आफ्नो खुट्टामा उभिनका लागि, आफ्नो हक, अधिकारका लागि शिक्षाबाट नै प्राप्त हुने भएकाले सबै छोरीहरुलाई पढ्नको लागि उनले आह्वान गरे ।

पालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले शिक्षा, स्वास्थ्यसहित प्रत्येक निकायमा पछि परेका महिलालाई अगाडि बढाउनको लागि पालिका प्रतिबद्ध रहेको भन्दै छोरीलाई शिक्षित र सबल बनाउन नै ‘बेटी पढाउ, बेटी बचाऊ’ अभियान ल्याइएको बताइन् । छोरीहरूलाई शिक्षा र रोजगारीका साथै आत्म रक्षाका लागि समेत अग्रसर बनाउने लक्ष्यका साथ पालिका अघि बढेको उनले जनाइन् ।

छोरीहरुको लागि शैक्षिक सुधार कार्यक्रम, ‘बेटी पढाउ, बेटी बचाउँ’, साइकल वितरण अभियान कार्यक्रमले गर्दा विद्यालय छाड्ने दर काम भएको हुनाले गाउँपालिकाले सराहनिय काम गरेकोमा अभिभवाक श्याम प्रकाश चौधरीले धन्यवाद दिएका छन् ।

यसभन्दा अगाडी विजयनगरले कक्षा ९ र ११ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरेको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०७९ मंगलबार ००:००  ८ : ३४ बजे