४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

चिसो बढेपछि आउन छोडे पर्यटक, सुनसान बन्दै ढोरपाटन



बागलुङ ।

चिसो बढेपछि ढोरपाटन उपत्यका सुनसान बन्न थालेको छ। मङ्सिर अन्तिम सातासम्म पर्यटकको चहलपहल रहेको ढोरपाटनमा पुस पहिलो सातादेखि नै सुनसान बन्दै गएको हो।

जाडोका कारण स्थानीय बासिन्दासमेत बोबाङ, अधिकारीचौर र निसीखोला झर्ने हुँदा ढोरपाटन सुनसान हुने गर्छ। पर्यटकको आगामन कम भएपछि यहाँ सञ्चालित होटल व्यवसायी पनि फुर्सदिला बनेका छन्।

ढोरपाटनमा हिउँ परे घुम्न आउने पर्यटक बढ्ने भए पनि अहिले सुनसान भएको ढोरपाटन होटल व्यवसायी संघका अध्यक्ष जीवन अदैले बताए। ढोरपाटनमा घुम्ती बसाई हुने हुँदा यति बेला धेरै स्थानीय बेँसी झरेको उनको भनाइ छ। अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष पर्यटकको सङ्ख्या बढेको र हरेक वर्ष पुसदेखि फागुनसम्म पर्यटक आगमन निकै कम हुने अध्यक्ष अदैले जानकारी दिए।

‘यो यामनै ढोरपाटनमा कम चहलपहल हुने गर्छ, चिसो बढेको छ, चिसोका कारण कम मात्रमा पर्यटक आउने गरेका छन्, मङ्सिरसम्म दैनिक १५० पर्यटक घुमफिरका लागि आउने गर्थे’, उनले भने, ‘अहिले घटेर ३०÷४० जना मात्रै आउने गरेका छन्, प्रचारप्रसार निकै भएर होला पहिलेका वर्षमा भन्दा अहिले पर्यटकको सङ्ख्या बढेको छ।’

पाँच वर्ष अगाडिसम्म ढोरपाटनमा होटल व्यवसाय गर्ने स्थानीय कम थिए। तर अहिले ढोरपाटन उपत्यकामा मात्रै करिब ४० हाराहारी होटल सञ्चालनमा छन्। चिसोका कारण पाहुन आउन कम भऐपछि केही दिनका लागि आफू पनि बेसी झरेको होटल व्यवसायी श्यामलाल घिमिरेले जानकारी दिए। पछिल्लो समय ढोरपाटनमा बास बस्ने र खाना खाने सुविधा बढ्दै गएपछि पर्यटकको आकर्षण बढ्दै गए पनि यो सिजनमा कम भएको उनको भनाइ छ।

पश्चिम बागलुङको ठूलो व्यापारी केन्द्र बुर्तिबाङ बजारदेखि करिब ३२ किलोमिटरको दूरीमा रहेको ढोरपाटनसम्म कच्ची सडक पुगेको छ। राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी-ढोरपाटन सडकले ढोरपाटन जोडिएपछि थप चर्चा पाएको छ। तर सडकको स्तरोन्नति नहुँदा पर्यटकले सास्ती खेप्नु परेको छ। रासस

प्रकाशित मिति : २० पुस २०८१ शनिबार ००:००  १० : ०१ बजे