काठमाण्डाै ।
अस्ति र हिजो देशका विभिन्न ठाउँमा परेको वर्षा र हिमपातले किसानलाई राहत पुगेको छ । चिस्यानको अभाव झेलिरहेको बेला चैत पहिलो हप्ता देशका धेरै ठाउँमा पानी परेपछि राहत भएको हो ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा परेको बाक्लो हिमपातले जनजीवन केही प्रभावित भए पनि यसले बालीमा भने चिस्यान थपेको छ । कृषिबालीमा पर्याप्त पानी पुगेपछि अबको उत्पादनमा सुधार हुने किसानको अपेक्षा छ ।
अस्ति शुक्रबार राति माथिल्लो मुस्ताङसहित मुक्तिनाथ क्षेत्र, ताप्लेजुङलगायतका विभिन्न जिल्लामा राम्रो हिमपात भएको छ । हिमपात भएकाले खेतीयोग्य भूभाग सबै हिउँले ढाकिएका छन् । पछिल्लो समय जलवायु परिवर्तनको प्रभावका कारण अनुकूल समयमा हिउँ नपर्दा उच्च लेकका चरन क्षेत्रमा घाँस अभाव हुने गरेकामा यस वर्षको हिउँले स्थानीय पशुपालक किसानलाई पनि राहत मिलेको छ ।
हिमाली क्षेत्रमा विशेषगरी रैथाने उवा, जौँ, गहुँ, अलैचीँ उत्पादन हुने गर्छ । अनुकूल समयमा परेको हिउँले अन्नबाली र फलफूलखेतीमा लाग्ने विभिन्न रोग कीराको सङ्क्रमणलाई न्यूनीकरण गर्ने भएकाले हिउँ अन्नबाली र फलफूल उत्पादनका लागि बरदान भएको किसानले बताएका छन् ।
त्यस्तै अहिले वन डढेलो बढ्ने बेला पानी परेपछि डढेलो रोकिएको छ । काठमाण्डौसहित मुख्य शहरमा यसअघि उच्च रहेको प्रदुषण पनि घटेको छ । अघिल्लो महिना फागुनमा काठमाण्डौ विश्वकै प्रदूषित शहरको शीर्ष पाँचमा पर्दै आएकोमा पानी परेपछि प्रदूषण घटेको छ ।
आज बिहान काठमाण्डौ विश्वको १६ औँ स्थानमा छ । काठमाण्डौमा हावाको गुणस्तरमापन सुचक एक्यूआई बिहान ८८ रहेको छ । आजदेखि मौसममा सुधार आएको छ ।







प्रतिक्रिया