काठमाण्डौ ।
सरकारले समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम आउँदो जेठ पहिलो हप्तादेखि फिर्ता गर्ने भएको छ । गएको वैशाख ९ गतेदेखि काम थालेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी र बचतकर्ताको आवश्यक विवरण सङ्कलन गरेर बचत रकम फिर्ता गर्ने तयारी गरेको हो ।
समितिले गरेको अध्ययनअनुसार समस्याग्रस्त सहकारीका झन्डै ७६ हजार बचतकर्ताको झन्डे ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्ने छ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेको समितिले जनाएको छ । ५ लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ ।
कुल ७६ हजारमध्ये पाँच लाखभन्दा बढी बचत गर्ने जम्मा १८ हजार रहेको समितिका सदस्यसचिव रविन ढकालले जानकारी दिनुभयो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि धेरै काम भइसकेको र अब फिर्ता गर्ने काम शुरू हुने जानकारी दिनुभयो ।
समितिले माग दाबीकर्ता बचतकर्ताको बचत फिर्ता गर्ने कार्य आगामी जेठको पहिलो हप्ताबाट शुरु हुने र मागदाबी छुट भएका बचतकर्ताको पुनः मागदाबी गर्ने समय आउँदो साउनको पहिलो हप्तामा खुला गरिने जनाएको छ ।
समितिका अनुसार नेपाल सरकारबाट चक्रीय कोषमा विनियोजित रकम सम्बन्धित समितिको कोषबाट नपुग हुन गएमा सापटीका रूपमा मात्र खर्च गरिने पनि स्पष्ट पारिएको छ ।







प्रतिक्रिया