बाबुराम रायमाझी ।
वाणगंगा ९ स्थित देउराली चोकमा शनिबार साना किसान कृषि सहकारी संस्था लिमिटेड भलवाडद्वारा सञ्चालित सहकारी सस्तो पसलको उद्घाटन गरिएको छ । संस्थाले एक विशेष कार्यक्रमको आयोजना गर्दै सहकारी पसल सञ्चालनमा ल्याउनुका साथै आफ्नो ३०औँ स्थापना दिवस पनि मनाएको हो ।सहकारीमार्फत सर्वसाधारण नागरिक तथा किसानलाई गुणस्तरीय सामग्री सहज र सुलभ मूल्यमा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त पसलको संस्थाका संस्थापक अध्यक्ष हरिराज घिमिरे ले औपचारिक उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष घिमिरेले सहकारी संस्थाले स्थापना कालदेखि नै किसानको हित र सहजताका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे । उनले सहकारी पसललाई सबै सदस्य तथा स्थानीय नागरिकले आफ्नै पसलको रूपमा ग्रहण गर्नुपर्ने बताउँदै अधिकतम कारोबार गरी सहकारीलाई थप मजबुत बनाउन आग्रह गरेका थिए ।उनले सहकारी अभियानले ग्रामीण क्षेत्रका किसानलाई आर्थिक रूपमा सशक्त बनाउने कार्य गरिरहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा विस्तार गरिने बताए ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष कुमार मधु बेल्बासेले सहकारी स्थापना भएको ३० वर्ष पूरा भइसकेको अवस्थामा संस्थागत विकाससँगै सेवा प्रवाहमा पनि प्रभावकारिता बढ्दै गएको बताए । उनले सहकारी पसलबाट बिक्री वितरण गरिने सामग्रीको गुणस्तरमा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै उपभोक्ताको विश्वास कायम राख्न आग्रह गरेका थिए ।त्यस्तै कार्यक्रममा सहकारीका पूर्व लेखा समिति सदस्य विष्णु भुसाल, सदस्य बिन्द्रबहादुर गुरुङ लगायतले सहकारीको महत्व र स्थानीयस्तरमा यसले पुर्याउँदै आएको योगदानबारे धारणा राखेका थिए ।
कार्यक्रममा संस्थाका सहायक प्रबन्धक दिपक क्षेत्रीले सहकारी पसलबाट हाल भइरहेको विभिन्न सामग्रीको खरिद तथा बिक्री वितरणको अवस्थाबारे जानकारी गराएका थिए संस्थाका प्रबन्धक मानकुमारी गिरीका अनुसार सहकारी पसलमार्फत दैनिक उपभोग्य वस्तुका साथै कृषि तथा पशुपन्छी पालनका लागि आवश्यक खाद्यान्न, दाना, मल, बीउबिजन लगायतका सामग्री उपलब्ध गराइनेछ । साथै किसानले उत्पादन गरेका कृषि उपज पनि सहकारीले खरिद गरी बजार विस्तारमा सहयोग गर्ने योजना रहेको जानकारी दिनु भएको थियो ।
कार्यक्रम दिपक बस्नेतको अध्यक्षता तथा संस्थापक अध्यक्ष हरिराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाकी उपाध्यक्ष बसन्ती थापाले स्वागत मन्तव्य राखेकी थिइन् भने सञ्चालन प्रबन्धक मानकुमारी गिरीले गरेकी थिइन् ।
कार्यक्रममा सहकारीका विभिन्न टोलका शेयर सदस्य, सञ्चालक समिति, कर्मचारी तथा स्थानीय कृषकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।







प्रतिक्रिया