मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले वडा नम्बर १ स्थित पथ्थरकोटमा २३ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएको छ।
नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा नगर प्रमुख केशवकुमार श्रेष्ठ, उप-प्रमुख मीरा थारुसहित जनप्रतिनिधि, कर्मचारी, कृषक तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा नगर प्रमुख श्रेष्ठ स्वयं खेतमा उत्रिएर धान रोपाइँमा सहभागी बनेका थिए। जनप्रतिनिधि, कर्मचारी र किसानहरूले एकसाथ धान रोपेपछि खेतमा उत्साहपूर्ण वातावरण सिर्जना भएको थियो। बाजागाजा र सांस्कृतिक माहोलले रोपाइँलाई अझ रमाइलो बनाएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले परम्परागत रूपमा गरिँदै आएको धान खेतीको निरन्तरता कायम राख्न तथा किसानहरूमा थप उत्साह जगाउन प्रत्येक वर्ष राष्ट्रिय धान दिवस मनाउँदै आएको बताए। उनले कृषि क्षेत्रलाई नगरपालिकाको प्राथमिकतामा राखिएको उल्लेख गर्दै किसानको उत्पादन वृद्धि र कृषि आधुनिकीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।
उनले नगरपालिकाले किसानलाई कृषि यान्त्रीकरण, उन्नत बीउबिजन, प्राविधिक सहयोग तथा अन्य कृषि सामग्रीमा सहुलियत र सहयोग प्रदान गर्दै आएको बताए। “किसानलाई उत्पादनसँग जोड्ने र कृषि क्षेत्रलाई आधुनिक बनाउने दिशामा नगरपालिका निरन्तर लागिरहेको छ,” उनले भने।
लामो समयदेखि खडेरीको मार खेपिरहेका किसानहरू भने गएराति परेको वर्षापछि उत्साहित देखिएका छन्। पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित हुने चिन्ता बढिरहेका बेला वर्षाले राहत दिएको किसानहरूको भनाइ छ।
वर्षासँगै खेतमा पानी जमेपछि रोपाइँ कार्यले गति लिएको छ।
स्थानीय किसानहरूले समयमै पानी परेकाले धान खेतीप्रति नयाँ आशा जागेको बताएका छन्। पछिल्ला केही सातादेखिको खडेरीका कारण किसान चिन्तित भए पनि वर्षाले राहत दिएपछि रोपाइँ कार्यमा व्यस्त बनेका छन्।
बुद्धभूमि नगरपालिकाले हरेक वर्ष राष्ट्रिय धान दिवसलाई कृषकमैत्री कार्यक्रमका रूपमा मनाउँदै आएको छ।













प्रतिक्रिया