१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

निगाली–देउराली सडक खण्डमा राति गाडी चलाउन रोक



अर्घाखाँची ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सालझण्डी–ढोरपाटन सडकको निगाली–देउराली सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।

वर्षायाममा पहिरो, ढुंगा खस्ने तथा सडक अवरुद्ध भई जनधनको क्षति हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले बताए ।

उक्त सडकखण्डमा प्रत्येक दिन बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म कुनै पनि सवारीसाधन आवतजावत गर्न नपाइने प्रशासनले जनाएको छ ।

सडक निर्माणका क्रममा माटो कटिङ, रिटेनिङ वाल निर्माणलगायतका संरचनात्मक काम भइरहेको छ ।

निर्माणका कारण जमिन स्थिर हुन नसकेको र वर्षायाममा सुख्खा पहिरो, ढुंगा खस्ने तथा सडक अवरुद्ध हुने जोखिम उच्च रहेकाले यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै रातिको समयमा आवागमन रोक्ने जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरेको हो।

प्रकाशित मिति : १६ असार २०८३ मंगलबार ००:००  ९ : ३६ बजे