१९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026

‘​सिकाई २’ अन्तरगत ठूली दिदीहरूको क्षमता विकास कार्यशाला शुरु



लुम्बिनी। ‘सिकाइ–२’ परियोजनाको दोस्रो वर्षका लागि छनोट भएका ठूलीदिदीहरूको चारदिने क्षमता विकास कार्यशाला आजदेखि लुम्बिनीमा सुरु भएको छ। कार्यशालामा लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र कपिलवस्तु जिल्लाका २० वटा स्थानीय तहबाट छनोट भएका ३८ जना ठूलीदिदीहरूको सहभागिता रहेको छ।

हेम्पेल फाउन्डेसन तथा भीएसओ (VSO) नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा सिद्धार्थ सामाजिक विकास केन्द्रद्वारा सञ्चालित ‘सिकाइ–२’ परियोजनाले बालबालिकाको सिकाइ उपलब्धिमा सुधार, विद्यालयमा नियमित उपस्थिति वृद्धि, समावेशी शिक्षाको प्रवर्द्धन तथा समुदायस्तरमा शिक्षाप्रति सकारात्मक व्यवहार परिवर्तनमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ।

कार्यक्रमको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष तिलोचन घिमिरे, वाणगंगा नगरपालिकाका वरिस्ठ अधिकृत मदन घिमिरे, भीएसओ नेपालका इम्प्लिमेन्टेसन लिड शिखा श्रेष्ठ, निवर्तमान अध्यक्ष सूर्यकुमारी शाही लगाएतले कार्यशालाको सफलताको शुभकामना व्यक्त गर्दै यसले बालबालिकाको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यशालाको सहजीकरण परियोजना संयोजक यादव भुसाल, भीएसओ नेपालका परियोजना विशेषज्ञ राजभक्त डंगोल, सिकाइ सल्लाहकार तथा जिल्ला शिक्षा अधिकृतले गरिरहनु भएको छ।

चारदिने कार्यशालामा मेन्टरिङ (Mentoring) सीप, प्रारम्भिक तहको सिकाइ, सामाजिक मूल्य–मान्यता तथा ठूलीदिदीहरूको भूमिका र जिम्मेवारीलगायत विषयमा प्रशिक्षण प्रदान गरिनेछ। साथै मेन्टरिङको अवधारणा, यसको महत्व, मेन्टर (परामर्शदाता) र मेन्टी (सिक्ने व्यक्ति) को भूमिका तथा प्रभावकारी सहजीकरणका विषयमा सहभागीहरूलाई व्यवहारिक ज्ञान हासिल गर्नेछन्।

कार्यशालामा सहभागी ठूली दिदीहरूले आफ्ना समुदायमा बालबालिकाको सिकाइ सुधार तथा सकारात्मक सामाजिक परिवर्तनका लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सहभागीहरूमा सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतारेर समुदायमा प्रभावकारी योगदान पुर्‍याउने उत्साह र तत्परता देखिएको आयोजकले जनाएको छ।

यस अघि २० पालिकामा कार्यरत ३४ जना ठुली दिदीहरू समुदायमा परिचालन भइ विद्यार्थी, शिक्षक, अभिभावक तथा समुदायसंग शैक्षिक गतिवधीमा प्रत्यक्ष सहयाेग पुराइरहेका छन् ।

प्रकाशित मिति : १९ असार २०८३ शुक्रबार ००:००  ८ : ५१ बजे