३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

मैले आफै गर्नुछ, अरुको के आशा गरुँ: सरुपा मल्लाह



हरि अधिकारी, कपिलवस्तु ।

“छोरी मान्छे, किन चलाउनुपर्यो चिया पसल?” समाज र परिवारको यो प्रश्नले २३ वर्षीया सरुपा कुमारी मल्लाहलाई रोक्न सकेन। बरु,यो प्रश्नले उनलाई आफ्नै खुट्टामा उभिने थप आँट दियो। कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. २ श्रीनगर बस्ने सरुपाले समाजका रुढीवादी मान्यता र पारिवारिक चुनौतीलाई चिर्दै व्यवसाय र सामाजिक नेतृत्वमा एउटा बलियो उदाहरण प्रस्तुत गरेकी छिन्।

चार छोराछोरी (२ भाइ र २ बहिनी), आमाबुवा र हजुरआमासहितको ठूलो परिवारमा सरुपाको बाल्यकाल अभावकै बीच गुज्रियो। आमाबुवाले खेतीपाती र मजदुरी गरेर जेनतेन १२ कक्षासम्म पढाए।

गाउँकै श्रीनगर धतुरगढबाट आधारभूत शिक्षा लिएकी सरुपा हुर्कदै गएपछि परिवारमा उनको विवाह गरिदिने कुरा चल्न थाल्यो। टार्दै गइन्, तर ११ कक्षा पुग्दासम्म त उनलाई थेगिनसक्नुको दबाब थियो। तर, उनले बुवाआमालाई सम्झाइन्, बुझाइन् र पढाइलाई निरन्तरता दिइन्। उनको दृढताका कारण विवाहको दबाब त टर्यो तर घरको आर्थिक अभाव भने टरेको थिएन। बहिनीको डाक्टर बन्ने इच्छा र दुई भाइहरूलाई पढाउनु पर्ने बाध्यताका बीच जेठी सन्तान हुनुको जिम्मेवारी सरुपाको काँधमा जिम्मेवारीको बोझ कायमै थियो ।

१२ कक्षा सकेपछि उनले गाउँकै एक बोर्डिङ स्कुलमा एकवर्ष जति पढाएर पैसा जम्मा गरिन्, जसले उनकी बहिनीको पढाइमा ठूलो सहयोग पुर्‍यायो। यसले सरूपाको आँट हौसला बढायो।

किशोरी अधिकार मंच र सामाजिक रूपान्तरण

कक्षा ११ मा पढ्दै गर्दा सरुपा, केयर नेपालको सहयोगमा महिला पुन:स्थापना केन्द्र(ओरेक) द्वारा संचालित एउटा परियोजनाको सहयोगमा गठित पालिकास्तरीय किशोरी अधिकार मंच (GRF)मा आबद्ध भइन्। सुरुमा साधारण सदस्य बनेकी उनी आफ्नो सक्रियता र क्षमताका कारण दुई वर्षमै अध्यक्ष बन्न सफल भइन्।

अध्यक्षको भूमिकामा रहँदा उनले समाजमा व्याप्त विकृतिहरू विरुद्ध बुलन्द आवाज उठाइन्। “छोरी त पराईको धन हुन्”, “छोरीलाई नागरिकता दियो भने सम्पत्तिको हिस्सा खोज्छन्” भन्ने सङ्कुचित सोच भएको समाजमा उनले बालविवाह, लैङ्गिक विभेद र नागरिकता नबनाइदिने समस्याहरू विरुद्ध जनचेतनामूलक नाटक अनि छलफल कार्यक्रमको नेतृत्व गरिन्। यो मञ्चमार्फत पाएको तालिम र क्षमता विकासकै जगमा उनमा केही नयाँ गर्ने साहस पलाएको थियो।

चुनौतीको जगमा ठडिएको चिया पसल

पढाई रोक्किएकै बेला, यो अवसर जुट्यो, अनि चिया नास्ता पसल रोजेँ। मैले आफै गर्नुछ, अरुको के आशा गरुँ ?” २३ वर्षीया सरुपा कुमारी मल्लाहका यी भनाइमा आफ्नो खुट्टामा उभिने दृढ अठोट झल्किन्छ।

संस्थाकै सहयोगमा ‘दिदीबहिनी परियोजना’ संचालनभएपछि सरुपामा पनि व्यवसाय गरेर आत्मनिर्भर हुने सोच पलायो। यसअघि बजारमा उनकै एकजना साथीले शुरु गरेको चिया नास्ता पसल समाजको टीकाटिप्पणी सहन नसकेर हप्तादिनमै बन्द भएको सरूपालाई राम्रै सम्झना थियो। तैपनि, सरुपाले हरेश खाइनन्। “समाजले गर्दा ती साथीले सहन सकिनन् र पसल छाडिन्, । तर, मैले त्यहीँबाट शुरु गर्ने हिम्मत गरेँ,”उनले भनिन् ।

शुरुमा परिवारले साथ दिएन। तर, केयर नेपाल र ओरेकबाट प्राप्त १९ हजार रुपैयाँको आर्थिक सहयोगमा उनले खरको छानो भएको सानो चिटिक्क परेको टहरा बनाइन्। समयसँगै समाजको सोच पनि फेरिँदैछ । उनको मेहेनत र लगनशीलता देखेर जग्गाधनीले पनि जग्गाको भाडा लिएका छैनन्। उनको दिनचर्या नै व्यस्त छ, व्यवसाय र सामाजिक काम वाहेक अरू सोच्ने फुर्सदनै पाउदिनन् ।

विगत ५ महिनादेखि संचालित यो पसलमा दैनिक करिब २ हजार रुपैयाँको चिया, समोसा, ब्रेड पकौडा, चाउमिन, मःम जस्ता परिकार बिक्री हुने गरेको छ। यही व्यवसायकै बलमा हालसालै उनी महिला आर्थिक सशक्तिकरण कार्यक्रममा सहभागी हुन पहिलोपटक हवाइजहाज चढेर काठमाडौँसम्म पुगिन्, जहाँ ठूला व्यवसायीहरूसँगको भेटले उनलाई व्यवसाय विस्तार गर्ने थप ऊर्जा मिल्यो।

फेरिएको परिवार र समाजको दृष्टिकोण

शुरुमा विरोध गर्ने सरुपाको परिवार अहिले उनको सफलतामा गर्व गर्छ। ४३ वर्षीया आमा राधिका मल्लाह भन्छिन् “अहिले छोरी बैठक वा तालिममा जाँदा हामी पसल सम्हालेर सघाउँछौँ। उनीमाथि हामीलाई भरोसा छ। अब विवाहको कुरा पनि उनको इच्छा अनुसार नै हुन्छ।”

उनका बुवा महेश मल्लाह सिजन अनुसार भारतमा मजदुरी गर्न जाने-आउने गर्दछन । अब यो चक्र फेरिने तहमा पुग्दै छ । परिवारको आर्थिक हैसियत फेरिने चरणमा पुगेको छ । पसलकै कमाईबाट बचत गरेर व्यवसायलाई सजिलो बनाउन स्कुटी किन्ने योजना बनिरहेको छ।

व्यवसाय चलाउन थालेपनि उनले सामाजिक काम भने छोडेकी छैनन् । सरुपा अहिले पनि गाउँका किशोरीहरूलाई मेन्टर (परामर्शदाता) का रूपमा सहजीकरण गर्दै सशक्त बनाउन सक्रिय छिन्। “मैले आफै केही गर्नुछ, अरुको के आशा गरुँ” भन्ने उनको ‘सोच’ र आयआर्जन गरेर आत्मनिर्भर बन्ने आँट, आज कपिलवस्तुका धेरै किशोरीहरूका लागि प्रेरणाको स्रोत बनेको छ।

प्रकाशित मिति : ३ श्रावण २०८३ आइतबार ००:००  ८ : ५२ बजे