काठमाडौँ ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलसँग विगत ३५ वर्षको हिसाबकिताब नखोज्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
आइतबार ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै उनलेविगत ३५ वर्षको हिसाबकिताब खोज्ने नभई आगामी ३५ वर्षको कार्ययोजना ल्याउन समेत निर्देशन दिए। लामिछानेले विगतमा अन्य नेता र दललाई दोष दिएर आफूलाई अग्लो देखाउने अवस्था भए पनि अब त्यस्तो ठाउँ रास्वपासँग नरहेको समेत स्पष्ट पारे।
लामिछानेले विगतको असफलता र कमजोरीलाई लिएर निरन्तर आलोचना गरिरहनुभन्दा आगामी पुस्ता र देशको भविष्यका लागि दीर्घकालीन योजना निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिए।
‘हिजो हामीले दोष लगाउने कयौँ मान्छेहरू थिए। कैयौँ नेताहरु पनि थिए। जसलाई दोष लगाउँदा पनि हुन्थ्यो । दोषैदोषको चाङमा उभिएर आफूलाई अग्लो देखाउन हामी सक्थ्यौँ’, उनले भने, ‘आज कसलाई दोष देखाउने ? अब हामीले दोष देखाउने कुनै कुरा छैन। अब यो ३५ वर्षको हिसाबको कुरा गर्ने होइन साथी हो । ३५ वर्षको योजना ल्याउनुहोस्।’
सभापति लामिछानेले विगत ३५ वर्षमा पुराना राजनीतिक दलहरुले गरेका सकारातमक कामहरूप्रति धन्यवाद दिनुपर्ने बताए। ‘अब बितेको ३५ वर्षको लागि उहाँहरू लाई कचकच गर्ने ठाउँमा हामी छैनौँ । जति सके गरे धन्यवाद। तर अबको ३५ वर्षमा कस्तो बनाउने हाम्रै हातमा छ नि’, उनले भने।








प्रतिक्रिया