८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

प्रकाश सपुतको ‘गलबन्दी’ युट्युबको ट्रेन्डिङ १ मा



बागलुङ ।

लोकप्रिय गायक तथा सर्जक प्रकाश सपुत र गायिका शान्ति श्री परियारको गीत ‘गलबन्दी’ युट्युबको ट्रेन्डिङ १ मा पुग्‍न सफल भएको छ। गत जेठ ११ गते सपुतको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियो एक सातामै ४७ लाख १६ हजार बढी दर्शकले हेरिसकेका छन्।

केही दिन अघि नै ट्रेन्डिङ १ मा पुग्ने आँकलन गरिए पनि नागा चैत्यना, मदहवन र निद्धी अग्रवालको हिन्दी चलचित्र साभाक्षीले कब्जा जमाइरह्यो। तर शनिबार बिहानैबाट चलचित्रलाई पछि पार्दै ट्रेन्डिङ १ मा पुगेको हो।बियोगान्त ‘बोलमाया’ गीतबाट सर्वाधिक चर्चा कमाएका सपुत त्यसकै प्रिसिक्वेलको रुपमा ‘गलबन्दी’ तयार गरेको बताउँछन्। यस गीत र म्युजिक भिडियोबाट गाउँको पुरानो रोदी घरको मौलिक परम्परालाई सम्झाउन प्रयत्न गरेको उनको भनाई छ।

दोहोरी ब्याटल जस्तो दोहोरीकै शैलीमा नयाँ प्रयोग गरेर चर्चा र विवाद दुवै झेलेका प्रकाशलाई लोक दोहोरीको क्षेत्रमा ‘ट्रेन्ड चेन्जर’को रुपमासमेत लिन थालिएको सर्जक सुवास रेग्मी बताउँछन्। सपुतको स्वर, शब्द तथा संगीत रहेको गीतमा शान्ति श्री परियारले आवाजमा साथ दिएकी छन्। प्रकाश आफैले निर्देशन गरेको भिडियोमा चर्चित मोडेल अञ्जली अधिकारीको अभिनयले सर्वत्र चर्चा बटुलेको छ।

भिडियोको कथाले यो गीतमा मात्रै नभएर उनको आगामी गीत ‘बोल माया—२’ आउने समयको समेत प्रतिक्षा गर्न बाध्य पारेको छ। फिल्ममा सिक्वेलको प्रचलन भए पनि दोहोरी गीतमा नयाँ प्रयास गरिएको र श्रोता दर्शकले अत्यधिक मन पराएपछि निकै उत्साहित भएको सपुतले बताए।

प्रकाशित मिति : १८ जेष्ठ २०७६ शनिबार ००:००  १२ : ४८ बजे