९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

गाउँपालिकालाई स्विजरल्याण्ड बनाएर देखाउँछु : निसार अहमद खाँ



मायादेवी अनलाइन, लवनी ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष निसार अहमद खाँले काम चोरलाई नछाड्ने चेतावनी दिनुभएको छ । गाउँपालिका भित्र विभिन्न जिम्मेवारी सम्हालेका कर्मचारीलाई आफ्नो काम खुरुखुरु गर्न उहाँले आग्रह गर्नुभयो । ‘मलाई काम चोर प्रति घृणा लाग्छ अध्यक्ष खाँले भन्नुभयो, कसैले काम चोर प्रवृत्ती देखाए कडा कार्रबाही गर्छु ।’
नेपाल राष्ट्रिय शिक्षक संगठन कपिलवस्तुको आयोजना तथा प्राइम कमर्सियल बैंकको सहयोगमा विद्यालय तथा मर्दसालाई फोहरदानी वितरण कार्यक्रममा बोल्दै अध्यक्ष खाँले शिक्षकलाई पनि आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न आग्रह गर्नुभयो । “विद्यालयमा के चाहिन्छ त्यो भन्नुस म पूरा गर्छु, उहाँले भन्नुभयो, आफ्नो जिम्मेवारी भने कुशलतापूर्वक निर्वाह गर्नुस ।” सामुदायिक विद्यालयको पढाईमा गुणस्तर ल्याउनका लागि शिक्षकको दायित्व प्रमुख हुने भन्दै त्यतातिर ध्यान दिन उहाँले आग्रह गर्नुभएको छ ।
फरक प्रसंगमा बोल्दै गाउँपालिका अध्यक्ष खाँले गाउँपालिकालाई आफुले विकासमा स्विजरल्याण्ड बनाएर देखाउने दाबी गर्नुभयो । अब विकास भन्दा ठूलो कुरा अरु हुन नसक्ने भन्दै गाउँपालिकामा रहुन्जेल आफुले सबैतागत लगाएर काम गर्ने बताउनुभयो । विकासका लागि प्रदेश र केन्द्र सरकारसंग सुमधुर सम्बन्ध बनाएर काम गरिरहेको भन्दै आफुले सबैको साथ खोजेको बताउनुभयो ।

प्रकाशित मिति : ३ असार २०७६ मंगलबार ००:००  ३ : ३० बजे