१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

होराइजनद्धारा जिल्ला टपरसहित १२ कक्षा उत्तीर्णलाई सम्मान



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको बाणगंगा ४ सिद्धिपुरमा रहेको होराइजन आवासीय अंग्रेजी माविले उत्कृष्ट अंकसहित कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालयको सभाहलमा बधाई शुभकामना तथा सम्मान कार्यक्रमको आयोजना गरी माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गर्ने ७० बढी विद्यार्थीलाई खादा र अबिरले सम्मान गरिएको हो ।


परीक्षामा सहभागी भएका विद्यार्थीहरुमध्ये छात्रा बिश्मा घिमिरेले ३ दशमलव ७३ जिपिए प्राप्त गरी महिला तथा खुल्लातर्फ जिल्ला प्रथम भएकी थिइन भने छात्र बिपिन पौडेलले ३ दशमलव ६२ जिपिए हासिल गरी जिल्लामा द्धितीय तथा सुमन थापाले तृतीय स्थान हासिल गरेका थिए । उनीहरुलाई सो कार्यक्रममा विशेष सम्मान गरिएको थियो ।
विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष हिमलाल पौडेलेको सभापतित्व र बाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न सम्मान कार्यक्रममा बोल्ने वक्तहरुले विगत केही बर्षदेखि होराइजनले गरिरहेको सफलताले सिंगो जिल्लाको नाम उचो भएको बताएका छन् ।
प्रमुख अतिथि चक्र अर्यालले होराइजन मावि संस्थागत विद्यालयमा जिल्लामै उत्कृष्ट रहेको बताउँदै विद्यार्थीलाई उच्च सफलताको कामना गर्नुभयो । विद्यार्थीको काम केवल पढ्ने र लेख्ने मात्र नभएर समाज र राष्ट्रको सेवा गर्ने भएको हुँदा सोही अनुसार उच्च शिक्षा हासिल गर्न अनुरोध गर्नुभयो । शिक्षाले मानिसलाई अनुशाषित गराउने भएको हुँदा अनुशाषनहिन ब्यक्तिले जति नम्बर प्राप्त गरे पनि निरर्थक हुने उहाँको भनाई छ । उहाँले होराइजन जस्तै नगरका हरेक सामुदायिक विद्यालयले गुणस्तरयि शिक्षा प्रदान गर्नु पर्ने बताउनुभयो ।
विशिष्ट अतिथि बाणगंगा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम भट्टराईले प्राप्त गरेको सम्मानलाई सधैभरी कायम राख्न विद्यार्थीहरुलई सुझाउनु भयो । पछिल्लो समयको शिक्षा पलायनबादी रहेको हुँदा देशमै बसेर केही गर्नु पर्ने उहाको भनाई थियो । अहिलेको विद्यार्थीमा अनुशासनहिनता बढी देखिएकाले विद्यार्थीहरु अनुशासित भएर पढ्नु पर्ने उहाको भनाई छ ।
विशिष्ट अतिथि राष्ट्रिय परीक्षा बोर्डका बुटवल शाखा प्रमुख बाबुराम भण्डारीले जुन देशमा पुगे पनि विद्यार्थीले होराइजनको गरिमालाई कमजोर बनाउन नहुने बताउनु भयो । शिक्षा हासिल गर्न विदेश गए पनि अन्तिममा प्राप्त शिक्षाले नेपाली माटोलाई नै सिंगार्न सके मात्र मुलुक बन्ने उहाँको भनाई छ । उहाँले विद्यार्थीहरुलाई अब बेलायत छोडी बारा, अष्ट्रेलिया अमेरिका छोडी अछाम, ओखलढुंगा, बेल्जियम छोडी बारा र क्यानाडा छोडी कञ्चनपुर कपिलवस्तुको सेवा गर्न सक्नु पर्ने बताउनु भयो ।
विद्यालयका प्राचार्य बासुदेव घिमिरेले विद्यालयको मुख्य काम विद्यार्थीको सर्वाङ्गिण विकास भएको हुँदा यसै अनुसार आफूहरुले शैक्षणिक गतिविधि गरिरहेको बताउनु भयो । प्राप्त जिपिएले दंग नपर्न विद्यालयलाई अनुरोध गर्दै देशमै एक नम्मर मावि बनाउने आफ्नो लक्ष भएको बताउनु भयो । साथै उहाँले भावि दिनमा स्नातक तहको शिक्षा दिन तयारी गरिरहेको पनि जानकारी गराउनु भएको छ ।


विद्यालय ब्यवस्थापन सदस्य शिक्षा उप समिति संयोजक रविराज ज्ञवाली स्वागतमा सम्पन्न कार्यक्रममा प्लस टु संयोजक मोहन बेलबासे, संचालक विष्णु न्यौपाने, रेडियो मायादेवीका स्टेसन म्यानेजर चन्द्रकान्त न्यौपाने, कक्षा १२ मा जिल्ला प्रथम विष्मा घिमिरे लगायतले बोल्नु भएको थियो ।कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०७६ मंगलबार ००:००  ७ : ३६ बजे