१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

ज्योति भबिश्वर बहुमुखी क्याम्पस ठाडाको सातौ बार्षिक उत्सव मनाईयो



बिष्णु कुमार आले, अर्घाखाँची । 

ज्योति भबिश्वर बहुमुखी क्याम्पस ठाडा अर्घाखाँचीको सातौ बार्षिक उत्सव शनिबार बिबिध कार्यक्रम गरि मनाईएको छ । कार्यक्रममा भर्खर स्थापना भएको क्याम्पसलाई अगाडि बढाउनका लागि गत फागुन २४ देखि चैत्र १ गते सम्म धार्मिक महोत्सव २०७५ सफल पार्न  अहोरात्र खटेर उच्च योगदान पुराएको भन्दै क्याम्पसले महायज्ञ मुल समारोह समितीका २१ जना, प्रचार प्रसार समिती, आर्थिक समिती, २० जना क्याम्पस प्राध्यापक, ज्योति उच्च माबिका सम्पुर्ण शिक्षक शिक्षिका, अन्य माध्यमिक बिद्यालयका प्रध्यानाध्यापक, आजिवन सदस्यहरूलाई खादा तथा दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिएको थियो ।

महायज्ञ सफल पार्न संचार क्षेत्रबाट उल्लेखनिय योगदान पुराएको भन्दै क्याम्पस धार्मिक महोत्सव २०७५ प्रचार प्रसार समितीका संयोजक तथा नेपाल पत्रकार महाँसघका केन्द्रीय पार्सद बिष्णु कुमार आले सहित अन्य ७ जना पत्रकारहरूलाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिएको छ ।

सम्मानित हुनेहरुमा पत्रकार महासंघका जिल्ला उपाध्यक्ष गणेश खनाल, रूद्रमणि भुसाल, जितेन्द्र खत्री, नवीन केसी, अराज बेल्बासे, हृदय भुसाल लगायत रहनु भएको छ ।

कार्यक्रममा प्रदेशसभा सदस्य जाल्पा भुसालले महोत्सवको बेला उद्घोष गर्नु भएको ५० लाख रूपैया क्याम्पसको भवन निर्माणका लागि उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

यस्तै नगर प्रमुख सुर्य प्रसाद अधिकारीले क्याम्पसको दिगो बिकासका लागि सबै एक भएर अगाडि बढ्नु पर्ने बताउनु भयो । कार्यक्रम क्याम्पस संचालन समितीका अध्यक्ष कुमार केशव सिंह बेल्बासेको अध्यक्षता, उपाध्यक्ष काशिराम आचार्यको संचालनमा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख बिष्णु प्रसाद भट्टराई, महायज्ञ सचिवालय संयोजक माधव प्रसाद पौडेल, समाजसेबी नारायण बेल्बासे, नेकपा नगर संयोजक बसन्त श्रेष्ठ, नेपाली कांग्रेस नगर सभापति मोति बेल्बासे, नेकपा मालेका जिल्ला सचिव केदार बेल्बासे, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष  गणेश खनाल, शितगंगा ४ का वडा अध्यक्ष दामोदर अधिकारी, वडा नम्बर ७ का वडा अध्यक्ष मोहन प्रसाद पन्थी लगायतले बोल्नु भएको थियो ।

क्याम्पस प्रमुख बिष्णु प्रसाद भट्टराईले बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै क्याम्पसको स्तर उन्नतिका लागि महायज्ञमा संकलन भएको नगद रू ४१ लाख बैंकको मुद्दती खातामा जम्मा गरिएको आयोजित कार्यक्रममा जानकारी गराउनु भएको थियो ।

कृषि बिकास बैंक ठाडा शाखामा रू ३१ लाख, शाईन रेसुङगा डेभलपमेन्ट  बैंक र कामना सेवा बिकास बैंक ठाडा शाखामा रू १० लाख गरी रू ४१ लाख रूपैया ५ बर्षे अवधीमा ९.५ प्रतिशत ब्याजदरमा बैंक मुद्दती खातामा जम्मा गरिएको उल्लेख गर्नु भयो ।

महायज्ञमा कुल संकलन भएको रू ७७ लाख ६२ हजार ४ सय ६० रूपैयाँ मध्ये २५ लाख ५४ हजार ९ सय ५६ रूपियाँ खर्च भएको छ । जसमध्ये  संकलित नगद ४१ लाख बैंक मुद्दतीमा खातामा जम्मा भएको छ भने रू ११ लाख ७ हजार ५ सय ४ रूपैयाँ उठ्न बक्यौदा रकम रहेको क्याम्पस प्रशासनले जनाएको छ ।

अब क्याम्पस भवन निर्माणका लागि प्रदेश सभा सदस्य जाल्पा भुसालले दिने घोषणा गर्नु भएको रू ५० लाख र प्रतिनिधि सभा सदस्य एव पूर्व उप–प्रधानमन्त्री टोप बहादुर रायमाझीले घोषणा गर्नु भएको रू २० लाख क्याम्पसलाई आउने पक्का पक्की जस्तै भएको छ ।

प्रकाशित मिति : २८ भदौ २०७६ शनिबार ००:००  ९ : ५६ बजे