२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

दशै लागेसंगै कपिलवस्तुमा ४ करोड बढी रेमिट्यान्स भित्रियो



मायादेवी अनलाइन, तौलिहवा ।
दशै नजिकिएसंगै जिल्लामा रेमिट्यान्स कारोबारमा तेब्बरले बृद्धि भएको छ । एक साता यता बैंक तथा बित्तीय संस्थाहरुमा रेमिट्यान्सको कारोवारमा बृद्धि तेब्बर बढी भएको हो । जिल्लामा अहिले दैनिक ४ करोड बढी रेमिट्यान्स भित्रिरहेको कारोवार गर्ने बित्तीय संस्थाहरुले जनाएका छन् ।
बैदेशिक रोजगारमा गएका नेपालीहरुले दशै अघि नै रकम पठाउने गरेका थिए । जिल्लाको सदरमुकाम तौलिहवा, कृष्णनगर, चन्द्रौटा, जितपुर गोरुसिंगे, पकडी लगायतका स्थानमा ६० बढि वित्तिय संस्थाहरुले यसको कारोवार गर्दै आएका छन् । बाणिज्य, निजी बैंक, सहकारी संस्थाहरुले समेत रेमिट्यान्सको कारोवार गरीरहेका छन् ।
रेमिट्यान्सको कारोवार गर्ने संस्थाहरुमा अहिले अन्य दिनको तुलनामा रकम झिक्नेहरुको निकै भीड बढेको छ । कपिलवस्तु नगरपालिकाको पुरानो हाट बजार स्थित कसौधन मनी ऐक्सचेन्जका संचालक सन्तोष कसौधनले एक साता यता रेमिट्यमन्सको कारोवार अत्याधिक बढेको बताए । जिल्लामै सबैभन्दा बढी रेमिट्यान्सको कारोवार गर्ने गरेका कसौधनले अन्य दिनहरुको तुलनामा अहिले धान्नै नसकिने भीड बढेको जानकारी दिए ।
जिल्लाभरमा अहिले दैनिक दुई देखि ४ करोड सम्म रेमिट्यान्सको कारोवार भएको कसौधनको दाबी छ । अन्य समयमा आफ्नो संस्थामा २० देखि ३० लाख हुने गरेकोमा एक सातायता दैनिक ५० लाख सम्मको रेमिट्यान्सको भुक्तानी हुने गरेको छ ।
बुद्धभूमि २ गोरुसिंगे स्थित कस्मिक रेमिट्यान्स सेवाले दैनिक ३० लाखको कारोबार भइरहेको जनाएको छ । संस्थाका अनुसार जिल्लामा गत बर्षको तुलनामा यस बर्ष ३० प्रतिशतले कारोवार बढेको छ ।
बैदेशिक रोजगारका लागि कपिलवस्तुबाट खासगरी कतार, मलेसिया, साउदी अरब, दुबई, ईजरायल लगायतका देश गएकाहरुले रेमिट्यान्स रकम पठाउने गरेका छन् । राष्ट्रिय बाणिज्य बैंक तौलिहवा शाखाले पनि यस बर्ष गत बर्षको तुलनामा रेमिट्यान्स कारोबारमा वृद्धि भएको जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७६ शनिबार ००:००  ६ : १२ बजे