७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

कांग्रेस नेपाललाई उन्नति र समृद्ध बनाउँन चाहन्छ – नेता पौडेल



मायादेवी अनलाइन,चन्दौटा ५ असोज ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाललाई उन्नति र समृद्धिको बाटोमा लैजाने एक मात्र शक्ति नेपाली कांग्रेस रहेको दाबी गर्नुभएको छ । नेता पौडेलले नेपाली कांग्रेससँग भिजन, मिसन, संकल्प र निष्ठा भएकाले नेपाली कांग्रेसले मात्र मुलुकको गरीबी र बेरोजगारीलाई अन्त्य गर्न सक्ने ठोकुवा गर्नुभयो ।

कपिलवस्तुको चन्द्रौटामा नेपाली कांग्रेस कपिलवस्तुले बिहिबार आयोजना गरेको बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

देश परिवर्तनलाई सही रुप दिनका लागि नेपाली कांग्रेसको नेतृत्व आवश्यक रहेको उहाले जोड दिनुभयो । नेपाली कांग्रेस सिद्धान्तमा अडिएको एक मात्र पार्टी भएकोले अबको नेतृत्वका लागि कांग्रेसलाई सबल बनाउँदै लैजान पार्टी कार्यकर्तालाई आह्वान गर्नुभयो ।

श्रमको सम्मान गर्ने संस्कृतिको निर्माण गरेमा मात्र नेपाली समाज स्वस्थ, सुखी, सम्पन्न र समृद्ध बन्ने बताउँदै नयाँ प्रविधिको विकास सँगै अब कृषिमा क्रान्ति ल्याउन आवश्यक रहेको उनले स्पष्ट पार्नुभयो ।

नेपाली कांग्रेस सुशासनको लागि प्रतिबद्ध रहेको बताउँदै मुलुकमा मौलाएको धाँधली, भ्रष्टाचारहरुलाई उन्मूलन गर्दै नेपाललाई स्वच्छ प्रशासन दिएर जनतालाई स्वच्छ शासन दिएर अब मुलुकको उन्नति गर्ने र राष्ट्रिय बजेटहरुको सदुपयोग गरी नेपाललाई समृद्ध बनाउन अग्रसर हुने नेता पौडेलले उद्घोष गर्नुभयो ।

कार्यक्रममा सांसद सुरेन्द्रराज आचार्य, अतहर कमाल, वरिष्ठ नेता रुद्रप्रताप शाह लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता एवं शिवराज नगरपालिकाका नगरप्रमुखका उम्मेदवार अजय थापा, उपमेयरकी उम्मेदवार सविता चौधरी, नेपाल प्रहरीका पूर्व एस.एस.पी. विक्रम सिंह थापा, नेपाल आदर्श बहुमुखी क्याम्पस स्ववियू सभापति रजत गुप्ता, समयथान बहुमुखी क्याम्पस स्ववियू सभापति बासुदेव के.सी. लगायत झण्डै २५ सय नेता तथा कार्यकर्ताहरु राप्रपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०७४ बिहिबार ००:००  २ : ३३ बजे