९ भदौ २०८३, मंगलबार | Wed Aug 26 2026

शिवराज नगरपालिकामा १०३ वटा मुद्दा फछ्यौट



चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकाको न्यायिक समितिले आर्थिक बर्ष २०७६/०७७ मा परेका ७७ वटा मुद्धा मध्ये ५२ वटा मुद्दा फछ्यौट भएको छ । न्यायिक समितिमा परेका विभिन्न उजुरीहरु मध्ये गत आर्थिक बर्षमा विवादित पक्षसंग छलफल गरी मुद्दा फछ्यौट गरिएको हो ।

आर्थिक बर्ष २०७५/०७६ मा किनारा लाग्न बाँकी ५१ वटा मुद्दा र गत आर्थिक बर्ष ०७६/०७७ को ५३ वटा मुद्दा गरि १०३ वटा मुद्दा किनारा लागेको छ । लामो समयदेखि विवादमा रहँदै आएको ०७५–०७६ को ५१ वटा मुद्दा गत बर्ष मिलाउन सफल भएको न्यायिक समितिकी संयोजक शिवकुमारी थारुले बताइन् । न्यायिक समितिमा गत बर्ष जम्मा ७७ वटा मुद्दा परेकोमा ५२ वटा मुद्दा किनारा लागेको न्यायिक समिति संयोजक नगर उप–प्रमुख शिवकुमारी थारुले बताइन् । आइतबार आफ्नै कार्यकक्षमा नियमित कार्यक्रम अन्तर्गत पत्रकारसँगको भेटमा उप–प्रमुख थारुले सो जानकारी गरेकी हुन् ।

गत आर्थिक बर्षमा इज्जत आमद अनुसार खान लाउन नदिएको १८ वटा मुद्धा, नावालक छोरा–छोराको पालन पोषण तथा शिक्षा दिक्षा १, बाटो निकास सम्बन्धि ५, घर जग्गा सम्बन्धि २७, गाली बेइज्जती ४, ज्याली मजदुरी ४, कुलो पानी–नाली निकासा सम्बन्धि ७, ज्येष्ठ नागरिक पालन पोषण सम्बन्धि २ र अन्य ९ गरि ७७ वटा मुद्दा परेको थारुले बताइन् ।

जनतामा न्यायिक समिति प्रति विश्वास जागेकोले अड्डा अदालत नगई न्यायिक समितिमा उजुरी दिन आएको उप–प्रमुख थारुले जिकिर गरिन् । १ सय २८ वटा मुद्दा मध्ये चालु अवस्थामा २५ वटा मुद्दा रहेको र ती मुद्दा पनि छिट्टै किनारा लाग्ने उनले बताइन् ।

प्रकाशित मिति : १ श्रावण २०७७ बिहिबार ००:००  ५ : ३८ बजे