८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

‘कविता’ अरुण कुमार भुजेल, दार्जिलिङ



‘धारणा’

भानु बाजेको बिर्खे टोपीको कसम
ढाका र भादगाउँले टोपीको कसम
गोर्खाको टल्कने सिरूपातेको कसम
गोर्खाली भेषभुषा र पहिरनको कसम मौनता तोडेर

विद्रोह गर्न मन लाग्छ
पर्खाल फोरेर कुद्ने झोक चल्छ
मनको बहसंग बेस्सरी चिच्याउँदै
आफैसङ्ग धावा बोल्दिॅऊ झैं लाग्छ
भानुलाई भुल्ने मोतीराम बिर्सने
समहरू नपुज्ने नै परिवर्तन भए
स्वीकार छैन, यस्तो आचरण
संस्कार र संस्कृति बिनाको दर्शन
पारसलाई नचिन्ने गंगा प्रसाद नगन्ने
भूपी र कटुवाल नसम्झने भए
स्वीकार छैन नौंलो वादहरु
जसको बहानामा हुन्छ केवल वातहरू
तिमी कविताको मापदण्ड खोज्छौ
तौलन्छौ,नाप्छौ जोख्ने काम गर्छौ
सेमिनार,गोष्ठी र सम्मेलन गर्दै
आ-आफ्नै डम्फु सक्दो ठटाउॅछौ
खैंजडी हुनपर्छ साथदिने यो संग
सेलो र झ्याउरे पनि हुनपर्छ त्यो संग
बजाउनेसंगै गाउने र सुन्ने
तालमा नाच्ने पनिु हुनपर्छ त्यो संग
अनि पो बन्छ असल कविता
अनि पो लेखिन्छ बुझ्ने कविता
कविता जीवन हो

बन्धन हैन
हुरी, झरी र महामारी अनि
बसन्त, हर्ष र उल्लास पनि कविता
ठेलागाडीदेखि जेट-प्लेन कविता
कृषि अनि कृषक पनि कविता
सर्बहारा र सर्बसम्पन्न कविता
यत्र तत्र सर्बत्र कविता
सत्यम् शिवम् सुन्दरम् कविता ।

अरुण कुमार भुजेल (गोरुबथान), दार्जिलिङ ।

प्रकाशित मिति : १३ भदौ २०७७ शनिबार ००:००  ९ : ४२ बजे