मायादेवी अनलाइन, वाणगंगा ।
कोरोना भाइरस महामारीका बीचमै कपिलवस्तुको वाणगंगा क्षेत्रका हाटबजार निर्वाध रुपमा चल्न थालेका छन । जिल्लाको उत्तरी क्षेत्रमा रहेको वाणगंगा भित्रका विभिन्न हाटबजार आजभोलि खुल्न थालेका हुन् ।
कोरोना महामारीका कारण गत चैत्र महिना देखि पूर्णरुपमा बन्द रहेका हाट बजार महामारीकै बीच खुल्न थालेपछि कोरोना संक्रमणको जोखिम बढाएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।
पछिल्ला दिनमा नगरभित्र कोरोना संक्रमित बढेको बढै छन् भने लक्षणसहितका संक्रमित भेटिन थालेका छन् । यो बेला संक्रमणको जोखिम उच्च रहदा रहदै हाट बजार धमाधम चल्न थालेपछि जोखिम बढाएको हो ।
नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलक बहादुर पछाईले हाल सञ्चालनमा रहेका बजारहरुलाई पनि निगरानी गर्नुपर्नेस्थितिमा हाट बजारै खुल्नु दुखत कुरा रहेको प्रतिक्रिया दिनुभयो । नगर भित्र कोरोना दरमा बढोत्तरी हुनु र मानिसहरुका भीडभाड बढ्नुले कोरोनाको जोखिम उच्च देखिएको अध्यक्ष पछाईले बताउनुभयो । यो बेला सरोकारवाला गम्भीर बन्नुपर्ने भन्दै उहाँले हाट बजार किन र कसरी खुलाइयो जवाफ दिनुपर्ने बताउनुभयो ।
कोरोना महामारीले हाट बजार व्यवसायी पनि मारमा परेको उल्लेख गर्दै उहाँले व्यवसायीको समस्यालाई सरोकारवालाले बुज्नु पर्ने तर बजाररै निर्वाध रपमा चल्न नहुनेमा उहाँको जोड थियो ।
कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले नगरपालिका र व्यवसायी बीच हाट बजार खोल्ने विषयमा छलफल भएको प्रतिक्रिया दिनुभयो । लामो समय हाट बजार बन्द हुँदा व्यवसायी मारमा परेको भन्दै प्रत्येक वडामा बजार खुल्ला राख्ने गरी छलफल भएको बताउनुभयो । तर, नगरका जुनसुकै स्थानमा लाग्ने हाट बजारमा व्यवसायी जान नहुने र उपभोक्तालाई पनि नियमन गर्नुपर्ने छलफल भएको उहाँले बताउनुभयो । यद्यपि यो छलफल भएपनि अहिले खोलिएका हाट बजार छलफल विपरित रहेको उहाँले बताउनुभयो । यो विषयमा नगरपालिकाले अनुगमन गर्नुपर्ने उहाँले बताउनुभयो ।
यता नगरपालिकाका नगर उप प्रमुख चक्रपाणी अर्यालले हाट बजार खोल्ने विषयमा नगरको कुनै अनुमति नभएको बताउनुभयो । हाट बजार खोल्न अनुमति दिन भन्दै व्यवसायी नगरमा आएको तर यो हाम्रो क्षेत्राधिकार भित्र पर्दैन भनेर फर्काइदिएको उहाँले बताउनुभयो । यसको अनुमति सिडिओ कार्यालयबाट हुने भन्दै यो विषयमा अरु थाहा नभएको उहाँले बताउनुभयो ।
उता प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले बजार खुल्ला गर्ने अनुमति भएपनि २५ जनाभन्दा बढीको संख्यामा भीडभाड हुने गरी अनुमति नभएको बताउनुभयो । प्रजिअ पौडेलले उक्त मापदण्ड विपरित बजार सञ्चालन गरेको पाइए तुरुन्त बन्द गर्न सकिने चेतावनी दिदै यसो नगर्न आग्रह गर्नुभयो । साथै उहाँले वाणगंगाका हाट बजारमा तुरुन्तै अनुगमन टोली पठाइने पनि बताउनुभएको छ ।
नगरपालिका भित्रका गजेहडा, ओदारी, पिपरा, बैरिया, बुङ्ची, कोपवा, मोतिपुर लगायतका हाट बजार जिल्लाकै सबैभन्दा ठूला बजारहरु हुन् । पछिल्लो समय नगरका यी स्थानका हाट बजार खुल्न थालेका छन ।
सरकारले दशैंको बेला कोरोना महामारीको दर बढ्न सक्ने तर्फ सचेत रहदै जहाँ जुन ठाउँमा जो छ त्यही दशैं मनाउन आग्रह गरिरहेको छ । तर, हाट बजार निर्वाध रुपमा सञ्चालन हुँदा दशैंमा भीडभाड रोक्दैमा कोरोना नफैलिएला भन्न सकिने अवस्था नभएको सरोकारवाहरु बताउँछन् । हाट बजारमा किनमेल गर्न आउने अधिकांश ग्राहकले माक्सको प्रयोग गरेका छैनन भने सामाजिक दुरीको ख्यालै छैन् । बजारमा सामान बेच्ने व्यवासायीले पनि माक्सको प्रयोग बिना मालसमान निर्वाध रुपले विक्रीवितरण गरिरहेका छन् ।
पछिल्लो २४ घण्टामा मात्र वाणगंगामा थप ५ जना लक्षणसहितका संक्रमित थपिएका छन । यससंगै नगरमा जम्मा संक्रमितको संख्या २ सय ५० पुगेको छ । यसमध्ये सक्रिय संक्रमित ९१ जना रहेका छन । सरोकारवाला पनि आजभोलि लक्षणसहितका संक्रमितहरु थपिदा झनै जोखिम बढेको भन्दै लापरबाही गर्न नहुने सुझाउँछन् ।







प्रतिक्रिया