१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

नेपालमै पहिलो पटक कृत्रिम ‘भोकल कर्ड’ प्रत्यारोपण



ललितपुर, १२ साउन ।
घाँटीको क्यान्सर भई आवाज गुमाएकाहरुको उपचारका लागि नेपालमा नयाँ प्रविधि भित्रिएको छ । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धीमा बिहिबार पहिलोपटक दुई बिरामीहरुमा ‘ॐ’ नाम दिइएको आवाज यन्त्र जडान गरिएको हो । यो प्रविधिलाई सिलिकन प्रोस्थेसिस भनिने भारतीय क्यान्सर विशेषज्ञ डाक्टर बिशाल रावले बताउनुभयो ।
घाँटीको बोल्ने नली अर्थात् भ्वाइस बक्समा क्यान्सर भएपछि यसलाई काटेर फाल्नुपर्ने हुन्छ । बोल्ने नली फालेपछि बिरामीले जीवनभरी बोल्न सक्दैन । घाँटी तथा टाउकोका क्यान्सर विशेषज्ञ डाक्टर रावका अनुसार बिरामी बोल्न नसक्ने समस्याले गर्दा मानसिक रोग लाग्न सक्ने सम्भावना हुन्छ ।
यो प्रविधिको प्रयोग पछि बिरामीले बोल्न सक्छ । यो डिभाइस एक पल्ट घाँटीमा राखेपछि ३ महिनादेखि २ वर्षसम्म काम गर्छ । रावका अनुसार यसलाई बेलाबेलामा परिवर्तन गर्न सकिन्छ । यो प्रविधिको प्रयोग युरोपियन देशमा पहिले नै प्रयोग भइसकेको भए पनि नेपालमा भने पहिलो पटक प्रत्यारोपण भएको हो ।
यो डिभाइस घाँटीमा लगाइसकेपछि बोल्ने बेलामा डिभाइसको तल्लो भागमा छोप्नुपर्छ र बोल्ने अभ्यास गर्नुपर्ने डाक्टर रावले बताउनुभयो । घाँटीमा सिलिकन प्रोस्थेसिस प्रविधिबाट उपचार गरिने पद्धती ‘ट्रेयाकियोसोफेजल पन्चर’ हो ।
स्रोत उज्यालो अनलाइन

प्रकाशित मिति : १२ श्रावण २०७४ बिहिबार ००:००  ३ : ३० बजे