१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

शुल्क बृद्धिको विरोधमा आन्दोलित नेताको प्रतिक्रिया कस्तो छ !



दिपक अनुरागी, कपिलवस्तु, १६ साउन ।
कपिलवस्तुका आठ ओटै क्याम्पसका विद्यार्थी अहिले आन्दोलित छन् । पब्लिक क्याम्पस संघ कपिलवस्तुले हालै मात्र बढाएको मासिक शुल्क र भर्ना शुल्क रकम बारे चित्त नबुझे पछि यहाँका विद्यार्थी आन्दोलित बनेका हुन् । जिल्लामा क्रियाशिल सात विद्यार्थी संगठनहरुले साझा मोर्चा बनाई आइतबार देखि दोस्रो चरणको आन्दोलन चर्काएका छन् ।
दोस्रो चरणको कार्यक्रम शुरु गर्नु अगावै सात विद्यार्थी संगठनले साउन १५ सम्ममा बढेको शुल्क तत्काल फिर्ता लिन माग गर्दै क्याम्पस संघलाई विज्ञप्ति मार्फत आग्रह गरेका थिए तर त्यो विज्ञप्तिको कुनै अर्थ नदेखिए पछि (साउन १६) आज सोमबार देखि विद्यार्थी संगठन आन्दोलित बनेका हुन् । उनिहरुले संयुक्त विद्यार्थी संघर्ष समिति गठन गरेका छन् ।
दोस्रो चरण अन्तरगत सोमबार संयुक्त विद्यार्थी संघर्ष समितिले क्याम्पस परिसरमा विरोधको कार्यक्रम राखेको छ । क्याम्पसमा अध्ययरत विद्यार्थीहरुको सहभागीतामा बृद्धि शुल्क तत्काल फिर्ता लिन दबाब स्वरुप विरोधको कार्यक्रम राखेको नेपाल विद्यार्थी संघ कपिलवस्तुका कोषाध्यक्ष कुमार थापाले जानकारी दिनुभयो । विद्यार्थीको ढाड सक्ने गरि बढाइएको शुल्क फिर्ताका लागि बसेको आइतबारको वार्ता विना निष्कर्ष टुङ्ग्गिएको नेविसंघ कोषाध्यक्ष थापाले जनाउनुभयो । ‘क्याम्पस संघ र विद्यार्थी संगठन बिच वार्ता बस्यो उहाले भन्नुभयो ’ “वार्तामा क्याम्पस संघ एक इन्च पनि पछि हट्न तयार भएन ।” वार्ताबाट निकास खोज्न आफुहरुले गरेको पहललाई वेवास्था गरिएको उहाँको भनाई छ ।
क्याम्पस प्रशासन विद्यार्थीे प्रति जिम्मेवार बन्न नसकेको अनेरास्ववियुका जिल्ला नेता शुसील खत्रीको आरोप छ । आफुहरुले कल्पना नै गर्न नसक्ने गरि पब्लिक क्याम्पस संघले शुल्क बृद्धि गरेर विद्यार्थीलाई ढाड सेक्ने काम गरेको नेता खत्री बताउनुहुन्छ । सिद्धार्थ क्याम्पसका स्ववियु सभापति समेत रहेका खत्रीले स्नातक देखि स्नातकोत्तर सम्म शुल्क बृद्धि गरिएको उहाँले बताउनुभयो । ‘मासिक र भर्ना शुल्कमा मनपरि शुल्क बृद्धि भएको छ उहाले भन्नुभयो ’ “यस्तो हुन्छ भनेर हामीले सोचेकै थिएनौ । ” शुरुवातमा धेरै शुल्क बृद्धि गर्ने र पछि वार्ता पछि केहि घटाउने मनशायले नसोचेको शुल्क बृद्धि भएर आएको उहाँको आशंका छ ।
अखिल (क्रान्तिकारी) का नेता रमेश गैरेले क्याम्पस सञ्चालनमा समस्या परे शुल्कनै बृद्धि गर्नुपर्ने कुरा नसुहाउँदो भएको टिप्पणी गर्नुभयो । क्याम्पस सञ्चालनमा विद्यार्थीको शुल्क नै विकल्प नभएको नेता गैरेको धारणा छ । क्याम्पसले स्थानीय स्रोत साधनको प्रयोग गर्नुपर्नेमा उहाँको जोड छ । अझ राज्य यस प्रति गम्भिर बन्नुपर्ने उहाँले बताउनुभयो । राज्यले दिने शिक्षाको बजेट हरेक बर्ष बढाउनुको साटो घटाउदै गएको उहाले जनाउनुभयो । ‘राज्यको दायित्व क्याम्पसमा कहाँ छ उहा प्रश्न गर्नुहुन्छ,’ “क्याम्पस सञ्चालनको लागि गरीब विद्यार्थीको ढाड सेक्ने राज्य दुनियामा कहि छैन् । ”
दोस्रो चरणमा सार्वजनिक भएका आन्दोलनका कार्यक्रम अनुसार बिद्यार्थीहरुलाई भर्ना नहुन आग्रह गर्ने, क्याम्पस प्रमुखलाई क्याम्पस कक्षमा रोक लगाउने, रिले अनशन बस्ने, क्याम्पसको प्रशासन र लेखा कक्ष बन्द गर्ने सम्मका छन् ।
पब्लिक क्याम्पस संघले स्नातक तहको मासिक शुल्क रु. ७५० रहेकोमा अहिले बढेर रु. १२५० भएको छ । यस्तै स्नाकोत्तर तहमा पनि मासिक र भर्ना शुल्क बृद्धि गरिएको छ ।
यस बिषयमा पब्लीक क्याम्पस सघं कपिलवस्तुका जिल्ला अध्यक्ष नवराज तिवारीले क्याम्पसको दहनीय अवस्था झन पछि झन बढदै गएको कारणले शुल्क बृद्धि गर्न लागेको बताउनुहुन्छ । अध्यक्ष तिवारीले बिगत केही बर्षबाट शुल्क बृद्धि नभएको र राज्य कोषबाट पब्लीक क्याम्पसलाई कुनै रकम नआउने हुदा पनि शुल्क बृद्धि गर्न आवश्यक देखिएको उहाले बताउनुभयो ।

 

प्रकाशित मिति : १६ श्रावण २०७४ सोमबार ००:००  ११ : ५२ बजे