६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

भरतपुर १९ मा अर्को चुनाव कहिले ?



काठमाडौं, १७ साउन ।
सर्वोच्च अदालतको फैसलापछि अब भरतपुर महानगरपालिका वडा नं. १९ मा फेरि मतदान हुने भएको छ । निर्वाचन आयोगले फेरि मतदानको लागि तयारी थालेको जनाएको छ । सर्वोच्चको फैसला अध्ययन गरेपछि मतदानको मिति टुंगो लाग्ने प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले जानकारी दिनुभयो ।
‘आज एकपटक फैसला अध्ययन गर्छौं, त्यसपछि निर्णय हुन्छ’ यादवले उज्यालोसँग भन्नुभयो, ‘धेरै दिन अल्झाएर राख्नुको अर्थ छैन, छिटै निर्णयमा पुग्छौं ।’ फैसला अध्ययन गरेपछि आयोग आफै या मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले चुनावको नयाँ मिति घोषणा गर्ने उहाँले जानकारी दिनुभयो ।
सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको मतगणना विवादमा लामो सुनुवाइ र बहसपछि आइतबार निर्वाचन आयोगकै निर्णय सदर गर्दै फेरि मतदान गराउने आदेश दिएको हो । आदेशमा भनिएको छ, ‘स्वतन्त्र र निष्पक्ष ढंगले निर्वाचन गराउने संवैधानिक दायित्व निर्वाचन आयोगमा रहेको छ, निर्वाचनमा धाँधली भएमा प्रजातन्त्रप्रति अनास्था जागृत हुने कुरामा दुईमत हुन सक्दैन, अब उप्रान्त आफ्नो दायित्वतर्फ विशेष रुपमा सचेत रही सुरक्षालगायत जो चाहिने व्यवस्था गर्नु गराउनु ।’
निर्वाचन आयोगले गएको जेठ २० गते भरतपुर १९ मा फेरि मतदान गराउने निर्णय गरेको थियो । निर्वाचन आयोगले फेरि मतदान गराउने निर्णयविरुद्ध वडा नं १९ का एमाले उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसी पाण्डेले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।
सर्वोच्चको आदेशमा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५ (१) ख मा भएको व्यवस्थाले मतगणना प्रतिनिधि वा निर्वाचन प्रतिनिधिलाई बाहेक गरेको भन्दै मतगणनास्थलमा उपस्थित जो सुकैले मतगणना कार्यमा खटिएको निर्वाचन अधिकृत वा कर्मचारीको जिम्मा रहने मतपत्र खोसी च्यातेको स्थितिमा मतगणना कार्य निष्पक्ष तथा स्वतन्त्र हुन नसक्ने उल्लेख छ ।
त्यसैगरी, स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५० (१) ख मा भएको व्यवस्थाअनुसार आदेशमा मतगणनाको कार्य निश्पक्ष तथा स्वतन्त्र रुपमा सामान्य ढंगले सञ्चालन नहुने वा हुन नसक्ने गरी प्रभावित गरेमा मतगणनास्थलको अनधिकृत कब्जा भएको देखिएको आदेशमा उल्लेख छ ।
मतगणनास्थलको मुख्य निर्वाचन अधिकृतको प्रतिवेदन, अनुगमन टोलीको जाँचबुझ प्रतिवेदन समेतलाई आधार बनाई वडा १९ को सम्पूर्ण मतपत्र अवैध घोषित गरी मतदान रद्द हुने गरी निर्वाचन आयोगको निर्णय कानून अनुरुप नै भएको आदेशमा उल्लेख छ ।
भरतपुर १९ को मतगणनामा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली र नेकपा माओवादी केन्द्रका उम्मेदवार रेणु दाहालबीच प्रतिस्पर्धा भइरहेको बेला जेठ १५ गते राति माओवादी कार्यकर्ताले ९० मतपत्र च्यातेपछि गणना स्थगित गरिएको थियो ।
के भन्छन् देवी ज्ञवाली र रेणु दाहाल ?
भरतपुर महानगरपालिकाको प्रमुखका एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका देवी ज्ञवालीले सर्वाेच्च अदालतको निर्णय त्रुटिपूर्ण र दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिंदै अब मतदाताको फैसला कुर्ने बताउनुभएको छ । ‘सर्वोच्चको फैसला मान्नैपर्छ, यो त्रुटिपूर्ण छ’ सर्वोच्चको फैसलालगत्तै आइतबार बेलुकी उज्यालोलाई संक्षिप्त प्रतिक्रिया दिंदै उहाँले भन्नुभयो, ‘फैसला त्रुटिपूर्ण थियो भनेर एकदिन सर्वोच्च अदालत आफैले नै भन्नेछ ।’
आफू अब मतदातामाझ जाने र फेरि मतदानबाट आफू निर्वा्चित हुने उहाँले दाबी गर्नुभयो । यस्तै नेकपा (माओवादी केन्द्र) का तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुखका उम्मेदवार रेणु दाहालले सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले फैसलाले नागरिकको अभिमतको कदर गरेको र नागरिकको पक्षमा फैसला भएको बताउनुभयो ।
स्रोत ः उज्यालो अनलाइन

प्रकाशित मिति : १७ श्रावण २०७४ मंगलबार ००:००  ३ : २९ बजे