१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

समन्वय समिति म्याग्दीमा एमाले कांग्रेस बराबरी, गोलाप्रथाबाट एमाले विजयी



म्याग्दी, साउन १७।

जिल्ला समन्वय समिति म्याग्दीको प्रमुख पदमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । समन्वय समितिमा नेकपा एमाले र नेपाली कांग्रेसको मत बराबरी भएपछि गोलाप्रथाबाट नेकपा एमालेका उम्मेदवार देवेन्द्रबहादुर केसी निर्वाचित हुनुभएको हो ।
जम्मा १२ जना मतदातामध्ये एमालेको पक्षमा ६ जना र कांग्रेसको पक्षमा ६ जना भएपछि नेपाली कांग्रेसको पार्टी कार्यालयमा बसेको बैठकमा भद्र सहमतिअनुसार गोलाप्रथा गरिएको थियो । गोला तान्दा जिल्ला समन्वय समितिको प्रमुख पाउनेले ४ सदस्य र उपप्रमुख पाउनेले ५ सदस्य पाउने गरी सहमति भएको नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताउनुभयो । कांग्रेस र एमालेबिच भएको सहमतिअनुसार गोला तान्दा एमालेले प्रमुख र कांग्रेसले उपप्रमुख पाएको छ ।
नेपाली कांग्रेसबाट जिल्ला समन्वय समितिको उपप्रमुखमा लोकबहादुर मल्ल निर्वाचित हुनुभएको छ । यसैगरी जिल्ला समन्वय समितिमा ५ सदस्य पनि कांग्रेसले पाएको छ । कांग्रेस पार्टी कार्यालयमा एमाले र कांग्रेसका प्रमुख र शीर्ष नेताहरु एवं जिल्लामा क्रियाशिल पत्रकारहरुको उपस्थितिमा प्रमुख र उपप्रमुखको गोलाप्रथा गरिएको थियो ।
एमाले म्याग्दीका उपाध्यक्ष समेत रहेका केसी रघुगंगा गाउँपालिका–२ मा लोकप्रिय मत ल्याएर वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । यसअघि गएको वैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनमा तालमेल गरेका नेपाली कांग्रेस र माओवादी तथा एमाले र राप्रपाले समन्वय समितिको निर्वाचनमा पनि उक्त तालमेललाई निरन्तरता दिए ।

प्रकाशित मिति : १७ श्रावण २०७४ मंगलबार ००:००  २ : ०३ बजे