७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बिद्युत चोरी गर्ने धमाधम पत्ता लाग्दै



कपिलवस्तु १८ साउन ।

नेपाल बिद्युत प्राधिकरण तौलिहवा बितरण केन्द्रले फेरी बिद्युत चुहावट नियन्त्रण अभियान सुरु गरेको छ । अभियानको १५ दिनमै अभियान टोलीले ५ लाख बढीका बिद्युतीय सामाग्रीहरु जफत गरेको जनाएको छ । बिद्युत चुहावट बिशेष नियन्त्रण तथा हुकिङ्ग नियन्त्रण अभियान अन्तरर्गत कपिलवस्तु नगरपालिका, यशोधरा र सुद्धोदन गाउँपालिकाका बिभिन्न गाउँहरुमा टोली पुगेको थियो ।

यसै क्रममा पोलबाट अंकुस लगाई चोरी गरिएका ५ सय बढी हुकिङ समेत हटाईएको प्राधिकरणका ईन्जीनियर किरण खनालले बताउनुभयो । उहाले बिद्यमान रहेको चुहावट दर २९ प्रतिशतबाट अझ तल झार्न अभियान चलाईएको बताउनुभयो । बिद्युत हुकिङ्ग गरि बिद्युत चुहावट गरिएका पंखा, तार, फ्रिज, मोटर, बोर्ड र ब्लब लगायतका बिद्युतिय उपकरण जफत गरिएको छ ।

बितरण केन्द्रबाट प्रहरी सहितको बिशेष टोलीले अभियानलाई तिब्रता दिने क्रममा ५ लाख बढीको सामाग्री जफल गरिएको खनालले बताउनुभयो । कपिलवस्तु नगरपालिकाको धरमपनियाको कनकटवा, नगरपालिकाको जहदी स्थित पकडी, पर्सिया, रेहरा, भैसटा, बनगाँइ, मायादेबी गाँउपालिकाको फुलिकाको बरगदवा र शुद्धोधन गाँउपालिकाको पतरियाको शान्तिचौक लगायतका स्थानबाट ति सामाग्री बरामद गरिएको हो ।

एक थान एलइडी टिभी, १ थान फ्रिज, ५ थान स्टेण्ड पंखा, एक हर्सपावर क्षमताका मोटर, स्टेपलाईजर, डिजे साउण्ड, पाईप, बोर्ड र बल्ब लगायतका सामाग्री जफत गरिएको बितरण केन्द्रका निमित्त प्रमुख ईन्जिनियर सन्तोष कुमार पाण्डेयले बताउनुभयो । चुहावट बढे पछि अभियान चलाएको प्राधिकरणका प्रमुख नारायण अर्यालले बताउनुभयो ।

हुकिङ र बिद्यूत चोरीले प्राधिकरणलाई दैनिक लाखौ घाटा भएको उहाले बताउनुभएको छ । अभियानलाई अझ सशक्त रुपमा अघि बढाउने अर्यालले बताउनुभयो ।

 

प्रकाशित मिति : १८ श्रावण २०७४ बुधबार ००:००  १२ : १३ बजे