७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मनाङ जिससको चुनावमा कांग्रेसले एमालेलाई एक भोटले हरायो



मनाङ, २२ साउन ।
मनाङमा जिल्ला समन्वय समिति (जिसस) को चुनावमा नेपाली कांग्रेसको समूह नै विजयी भएको छ । जिससको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस र नेकपा एमालेको मात्र उम्मेदवारी परेकोमा कांग्रेसका यज्ञप्रसाद घले र उपप्रमुखमा कृष्णबहादुर लामा एमालेका तर्फबाट प्रमुखका उम्मेदवार चिनबहादुर घले र उपप्रमुखमा प्रेमकुमार श्रेष्ठलाई एक मतको अन्तरले पछाडि पार्दै विजयी हुनुभएको छ ।
सदस्यमा कांग्रेसका कर्म छेतेन गुरुङ, महिला सदस्य चेसकासी घले, दलित सदस्यमा सुकमाया बिक र धनकासी गुरुङलगायत कांग्रेसको प्यानल नै विजयी भएको छ ।
स्थानीय तहको चुनावमा दुई ठूला पार्टी कांग्रेस र नेकपा (एमाले) दुई÷दुई गाउँपालिकामा सीमित थिए । तर समन्वय समितिको चुनावमा भने कांग्रेस विजयी भएको छ । स्थानीय चुनावमा दुई गाउँपालिकामा प्रमुख र दुई उपप्रमुख पाएको कांग्रेस आफ्नो एक मतले जित हासिल गर्न सफल भएको छ । दुई गाउँपालिकाको प्रमुख र एक उपप्रमुख जितेको एमाले भने आफ्नो ३ मतमा नै खुम्चिएको छ ।
समन्वय समितिमा जम्मा सात पद रहेको थियो जसमा मतदाता संख्या आठ थियो भने तीन दल र एक स्वतन्त्रबाट १४ जनाको उमेदवारी परेको थियो ।
कांग्रेस, एमाले, राप्रपा र स्वतन्त्रबाट उम्मेदवारी परेको थियो । कांग्रेसबाट प्रमुख, उपप्रमुखलगायत ६ जना र एमालेबाट ६ र अन्यमा राप्रपा र स्वतन्त्रका एक÷एक जना गरी १४ जना उम्मेदवार रहेका थिए । समन्वय समितिको मतदानमा एकजना मतदाता अनुपस्थित भएको मुख्य निर्वाचन कार्यालय, मनाङले जनाएको छ । रासस

प्रकाशित मिति : २२ श्रावण २०७४ आइतबार ००:००  २ : ०५ बजे