१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

ओलीले ‘रेस्पोन्स’ नगरेपछि प्रचण्डको शरणमा रामचन्द्र झा



काठमाडौं, २७ साउन ।
एमाले नेतृत्वले महत्व नदिएपछि रामचन्द्र झाले माओवादीसँग छलफल अघि बढाएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न बिहीबार बिहान उनी लाजिम्पाट पुगेका थिए । माओवादी नेता मणि थापाका अनुसार आजको भेटपछि उनी माओवादी फर्कने निश्चित भएको छ ।
‘अब उहाँ माओवादी आउने निश्चित भएको छ,’ नेता थापाले सेतोपाटीसँग भने, ‘कुरा मिलिसकेको छ ।’
उनका अनुसार झा पार्टीमा पहिलेकै हैसियतमा फर्कन तयार भएका हुन् । पार्टी छोड्दा उनले माओवादीको केन्द्रीय सचिवालय सदस्य र मधेस इन्चार्ज थिए ।
बाबुरामसँगै माओवादी छोडेका उनी नयाँशक्ति अभियानमा लागेका थिए । नयाँ शक्तिको सहसंयोजक रहे पनि त्यहाँ सन्तुष्ट हुन सकेनन् र नयाँ शक्ति छोडे ।
नयाँ शक्ति छोडेसँगै उनी एमाले फर्कने तयारीमा थिए । खासगरी एमाले नेता माधवकुमार नेपाल लगायत केही नेताले उनलाई एमाले फर्काउने प्रयास सुरु गरेका थिए । महासचिव ईश्वर पोखरेलसँग पनि उनको केही चरण कुराकानी भएको थियो ।
जनकपुर र आसपासको क्षेत्रका केही एमाले कार्यकर्ताले पनि एमाले फर्कन झालाई आग्रह गरिरहेका थिए । लामो समय एमालेमा बिताएको र आफूले उत्पादन तथा संरक्षण गरेका कार्यकर्ता एमालेमा नै भएका कारण झालाई राजनीति गर्न एमालेबाट नै सहज हुने थियो। उनीसँगै एमाले छोडेका केही नेता (कार्यकर्ता एमाले फर्किएकाले पनि उनले एमालेसँग छलफल अघि बढाएका थिए ।
तर, एमाले नेतृत्वले सकारात्मक ‘रेस्पोन्स’ नगरेको उनलाई एमालेमा फर्काउन प्रयास गरेका एक नेताले बताए । नाम उल्लेख नगर्ने शर्तमा उनले भने,’हाम्रो पार्टीले, खासगरी अध्यक्षज्यूले उहाँलाई कुनै रेस्पोन्स गर्नुभएन । यसमा सकारात्मक हुनुभएन ।’
एमाले अध्यक्ष केपी शर्मा ओली सकारात्मक भएको भए उनी एमाले फर्कन तयार रहेको ती नेताले बताए । माधव नेपालले निकै प्रयत्न गर्दा पनि अध्यक्ष ओलीले झालाई महत्व नदिएका हुन् । एमालेमा रहँदा झा माधव नेपालसँग नजिक थिए । यसैले पनि ओलीले चासो नदिएको हुनसक्ने ती नेताले बताए ।
सेतोपाटीसँगको कुराकानीमा हिजो झाले एमाले फर्कने विषयमा छलफल चलिरहे पनि मधेस मुद्दामा नेताहरू सकारात्मक नभएको बताएका थिए । यही कारण देखाउँदै उनले पाँच वर्षअघि एमाले छोडेका थिए ।
एमाले नेताहरूले ‘रेस्पोन्स’ नगरिरहेका बेला माओवादीले भने झालाई भित्र्याउन आफैं पहल गरिरहेको थियो । खासगरी माओवादीमा उनका आलोचक र प्रतिस्पर्धी भनी चिनिएका मात्रिका यादव आफैं उनलाई माओवादी फर्काउन लागि परेका थिए । अध्यक्ष दाहालले पनि झाको माओवादी फिर्तीलाई महत्व दिएका छन् ।
साभार सेतापाटी

प्रकाशित मिति : २७ श्रावण २०७४ शुक्रबार ००:००  ४ : १७ बजे