१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

जनताको भावना अनुसार काम गर्न जनप्रतिनिधिलाई घिमिरेको आग्रह



पार्वती पाण्डे, कपिलवस्तु २९ साउन ।
अनेमसंघका केन्द्रीय सदस्य विमला घिमिरेले जनताको भावना अनुसार यथास्थितीबाट माथि उठेर काम गर्न जनप्रतिनिधिलाई आग्रह गर्नु भएको छ । आज अनेमसंघ जिल्ला समितिको आयोजनामा निर्वाचित जनप्रतिनिधिहरुलाई सिद्धार्थ क्याम्पस वुङचिमा राखिएको सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रममा केन्द्रीय सदस्य घिमिरेले यस्तो बताउनुभएको हो ।
निर्वाचन अगाडि जनाएका प्रतिवद्धता अनुसार सृजनात्मक काम गर्न उहाँले सबैलाई आग्रह गर्नु भयो । कार्यक्रममा वाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्यालले जनताको मन जितेर आएको जनप्रतिनिधि भएकोले जनताको भावना अनुसार वाणगंगा नगरपालिकाको समग्र विकासका लागि काम गर्ने जनाउनुभयो ।
कार्यक्रममा वाणगंग नगरपालिकाका उपमेयर अर्याल, शिवराज नगरपालिकाका उपमेयर शिव कुमारी थारु, विजयनगर गाउँपालिकाका उपप्रमुख लक्ष्मी कुमारी चौधरी लगायतका जनप्रतिनिधिहरुलाई नेकपा एमाले स्कुल विभागका केन्द्रीय सदस्य समेत रहनु भएकि घिमिरेले दोसल्ला र अबिर लगाएर सम्मान गर्नु भएको थियो ।
संघका जिल्ला अध्यक्ष शारदा शर्माको अध्यक्षता सचिव चेतना अधिकारीको संचालन एवं वरिष्ट उपाध्यक्ष शुसिला दर्लामिको स्वागतमा भएको कार्यक्रममा अनेमसंघका जिल्ला इन्चार्ज सुर्य कुमारी शाहि, वुद्धिजिवी परिषद्का केन्द्रीय सदस्य वालाराम ज्ञवाली, प्रेस चौतारीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज पार्वती पाण्डे लगायतले बधाई एवं शुभकामना मन्तव्य दिनु भएको थियो ।
कार्यक्रममा जनप्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको अनेमसंघका कार्यालय सचिव शान्ता पाण्डेले जानकारी दिनु भयो ।

प्रकाशित मिति : २८ श्रावण २०७४ शनिबार ००:००  ३ : ४० बजे