७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

जिसस कपिलवस्तुको निर्वाचन आज हुदैं



दिपक अनुरागी, कपिलवस्तु, २ भाद्र ।
जिल्ला समन्वय समिति कपिलवस्तुको निर्वाचन आज हुँदैछ । तौलिहवामा हुने निर्वाचनमा कांग्रेस र एमालेको छुट्टा छुट्टै प्यानलबाट उम्मेदवारी परेको छ । कांग्रेस प्यानलमा २ स्वतन्त्र र माओबादी केन्द्र छन् भने एमालेलाई संघीय समाजबादी फोरम नेपालले साथ दिएको छ ।
जिल्ला समन्वय समितिको कुल ९ पदका लागि १७ जनाको उम्मदेवारी गत २९ गते दर्ता भएको मुख्य निर्वाचन अधिकृत विश्व मंगल आत्रेयले जानकारी दिनुभएको छ ।
समितिको संयोजकमा कांग्रेसबाट नारायण खनाल र एमालेबाट नेत्रराज गिरी प्रतिस्पर्धामा हुनुहुन्छ । अंक गणित हेर्दा कांग्रेस प्यानलको जीत निश्चित जस्तै छ । तर एमाले गठबन्धन भने जसरी भएपनि जित आफ्नो पक्षमा पार्ने गरि लागेको बुझिएको छ ।
जिससको उप संयोजकमा कांग्रेसकी तारावती कुमारी चौधरी तथा संघीय फोरमको संदीप कुमार पाण्डे विच प्रतिस्पर्धा हुनेछ ।
यस्तै महिला सदस्यहरुमा कांग्रेसबाट प्रमिला मल्ल, कुन्ती पासी, साठीया थारु तथा संघीय फोरमबाट गुन्जेश्वरी चमाईन र एमालेबाट शान्ता पाण्डेय प्रतिस्पर्धामा हुनुहुन्छ ।
यस्तै अन्य सदस्यमा कांग्रेसबाट काजु ताडीवान र एमालेबाट खगी सुनार रहनु भएको छ । यसैगरी सदस्यहरुमा कांग्रेसबाट तेज बहादुर रायमाझी, घनश्याम मौर्य, अनुप कुमार पाण्डेय, संघीय फोरमबाट नवल किशोर पाण्डेय, बलिराम यादव र एमालेबाट कृष्ण बहादुर चौधरी रहेको छन । कांग्रेस प्यानलमा कुल १३ र एमाले प्यानलमा सात मत रहेका छन । महाराजगंज नगरपालिकाका मेयर अब्दुल कलाम खाँ हज यात्रामा गएकाले कांग्रेसको एक मत घट्नेछ ।

प्रकाशित मिति : २ भाद्र २०७४ शुक्रबार ००:००  १ : ३६ बजे