८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

वाईसीएलको राष्ट्रिय सम्मेलन काठमाण्डौमा हुदैँ



काठमाडौं, २ भदौ ।
नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपालको एकताको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट काठमाडौंमा सुरु हुँदैछ । कोटेश्वर पार्टी प्यालेसमा अहिले केहि बारेमा माओवादी अध्यक्ष प्रचण्डले सम्मेलन उदघाटन गर्ने कार्यक्रम छ ।
आजै सुरु हुने बन्दसत्रले विधान र आर्थिक प्रतिवेदन पारित गरेपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुनेछ । सकेसम्म सहमतिमा नभए निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिने वाईसीएलका महासचिव रामप्रसाद सापकोटा ‘दिपशिखा’ले जानकारी दिनुभएको छ ।
बन्दसत्रमा ५७० जना प्रतिनिधिको सहभागिता रहने वाईसीएलले जनाएको छ । सम्मेलनबाट १७ सदयस्यीय पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ ।
अध्यक्ष पदमा दिपशिखा र लक्ष्मी चौलागाईं ‘शैलेन्द्र’ मुख्य दाबेदार हुनुहुन्छ । सिन्धुपाल्चोक निवासी दिपशिखा हाल वाईसीएलको महासचिव हुनुहुन्छ भने कालिकोट निवासी चौलागाईं उपाध्यक्ष हुनुहुन्थ्यो ।
यसैगरी अर्को शक्तिशाली पद महासचिवमा सुवोधराज शेर्पाली र सुमन देवकोटा मुख्य दाबेदार रहेको बताइएको छ । सम्मेलनले अध्यक्ष, महासचिव र कोषाध्यक्ष एक–एक जनासहित उपाध्यक्ष ३ जना चयन गर्नेछ । यस्तै सचिव ११ जना चयन हुनेछन् । सातवटा प्रदेशबाट सातजना, खुलाबाट एक जना, समावेशीबाट तीन जना गरी जम्मा ११ जना सचिव हुनेछन् । पदाधिकारी सरह अनुशासन र लेखा समितिका अध्यक्ष पनि रहनेछन् ।

प्रकाशित मिति : २ भाद्र २०७४ शुक्रबार ००:००  ४ : ०१ बजे