१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कपिलवस्तुको विकासमा प्रभावकारी भुमिका खेल्छु : जिसस प्रमुख खनाल



मायादेवी अनलाइन, कपिलबस्तु, ३ भाद्र ।
जिल्ला समन्वय समिति कपिलवस्तुको प्रमुखमा निर्वाचित भएपछि नारायण खनालले जिल्लाको विकासका लागि आफूलाई प्राप्त भएको भूमिका प्रभावकारी ढंगले निर्वाह गर्ने बताउनुभएको छ । जिल्लाको समग्र विकासको योजनालाई मूर्तरुप दिनका लागि स्थानीय सरकारहरु र माथिल्लो निकाय सँग प्रभावकारी समन्वय गरिने उहाँले बताउनुभएको हो । शुक्रबार भएको समितिमा खनाल सहित पुरै प्यानल कांग्रेसले जितेको छ । खनालले एमालेका नेत्रज्योती गिरीलाई ५ मत अन्तरले हराउँदै प्रमुखमा निर्वाचित हुनुभएको हो ।

यस्तै समितिमा कांग्रेस प्यानल कै पुरै नौ सदस्यिय टोली बिजयी भएको मुख्य निर्वाचन अधिकृत बिश्वमंगल आत्रेय बताउनुभयो । उप–प्रमुखमा कांग्रेस कै तारावती कुमारी चौधरी निर्वाचित हुनुभएको छ । उहाँलेका प्रतिद्धन्द्धी एमाले प्यानलबाट उम्मेदवार बन्नुभएका संघीय समाजबादी फोरमका संदीप पाण्डेयलाई पराजित गरी बिजयी हुनुभएको हो ।

यस्तै सदस्यहरुमा अनुप कुमार पाण्डेय, घनश्याम मौर्य, तेज बहादुर रायमाझी, कुन्ती पासी, प्रमिला मल्ला सठीया थरुनी निर्वाचित हुनुभएको छ । १० तहको २ मत मध्ये कांग्रेसको १० मत थियो । कांग्रेसले स्वतन्त्र बिजयी भएका कृष्णनगरका मेयर रजत प्रताप शाह, माओबादी केन्द्रकी कृष्णनगर उपप्रमुख सवनम खातुन र स्वतन्त्र रुपमा बिजयी सुद्धोदन गाउँपालिकाका प्रमुख निसार अहमद खाँलाई मिलाएर प्यानल बनाएको थियो ।

बिजयी भएका मध्ये प्रमुख उप प्रमुख र ४ सदस्य कांग्रेसको र बाकी एक एक सदस्यीय अन्य ३ जनाको रहेको छ । यसैबिच बिजयी भएका समन्वय समितिका प्रमुख उप प्रमुख र सदस्यहरुलाइै प्रमाण पत्र बितरण गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयद्धारा आयोजित कार्यक्रममा प्रमुख र उप प्रमुखलाई मुख्य निर्वाचनको अधिकृत आत्रेयले सपथ खुवाउनुभएको थियो । यस्तै प्रमुख खनालले सदस्यहरुलाई सपथग्रहण गराउनुभएको थियो । खनाल तत्कालीन हरिहरपुर गाबिसका पुर्व अध्यक्ष हुनुहुन्थ्यो ।

प्रकाशित मिति : ३ भाद्र २०७४ शनिबार ००:००  ३ : ३३ बजे