१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

गृहमा विधिको धज्जी उडाउँदै मन्त्री शर्मा



काठमाडौं, ७ भदौ ।
गृहमन्त्री जनार्दन शर्मा तीन महिना नपुग्दै गृहप्रशासनमा सबैभन्दा बदनाम हुन पुगेका छन् । चर्का कुरा गर्ने तर व्यवहार भने ठीक त्यस विपरीत देखाउने ‘हिपोक्रेट’ कार्यशैलीका उनले प्रहरीमा मात्र होइन निजामती प्रशासनमा समेत चरम हस्तक्षेप गरेपछि कर्मचारीतन्त्रमा आतंक फैलिएको छ ।
समाचार सूत्रका अनुसार, खासगरी सिडिओ सरुवामा गृहमन्त्री शर्माले अपनाएको कार्यशैली देखेर कर्मचारीहरु चकित भएका छन् । राजनीतिक आस्था र आर्थिक चलखेलका आधारमा सिडिओको सरुवा गरेका उनले सामान्य मापदण्डसमेत मिचेका छन् ।
सिडिओ सरुवासम्बन्धि मापदण्ड र कानुनमा स्नातक वा न्यायसम्बन्धि तीन महिना तालिम लिएको व्यक्तिलाई मात्र सिडिओका रुपमा खटाउने प्रावधान छ । सिडिओ अर्धन्यायिक अधिकारसहितको पद भएकाले प्रभावकारी बनाउन यस्तो प्रावधान बनाइएको थियो ।
तर, शर्माले त्यसको धज्जी उडाएका छन् । हाल सिडिओका रुपमा सरुवा भएका भूपेन्द्र थापालगायत धेरैले न कानुनमा स्नातक गरेका छन् न त तालिम नै लिएका छन् । थापालाई गृह ल्याएको केही दिनमै सोलुखुम्बु पठाइएको छ ।
त्यस्तै २ सय ३३ दिन नपुगी कुनै पनि सिडिओको सरुवा नगर्ने प्रावधान छ । तर, तीन महिनामै एक दर्जन सिडिओलाई अन्यायढङगपूर्वक हटाइएको छ । काठमाडौंकै सिडिओ बालकृष्ण पन्थीलाई तीन महिनामा हटाइयो । त्यस्तै बझाङका केशब थापालाई चार महिनामै हटाइएको छ ।
त्यस्तै म्याग्दीका राजु पौडेल, प्यूठानका यदुप्रसाद पौडेललाई पनि पाँच महिनामै हटाइएको छ । जुनसुकै सरकारले पनि एक वर्ष नपुगी सिडिओको यसरी मनलाग्दो ढंगले सरुवा नगरेको गृहका कर्मचारीहरु बताउँछन् ।
केही सहसचिवलाई गृहमा ल्याएलगत्तै सिडिओ बनाएर पठाइएको छ । केहीलाई भने पाँच महिनादेखि गृहमा थन्काएर राखिएको छ । सहसचिवद्धय चन्द्रमान श्रेष्ठ र हरिशरण पुडासैनीलाई जिम्मेवारी नै नदिई गृहमा राखिएको छ ।
उता बिदेश भ्रमणमा समेत चरम राजनीतिकण भएको छ । हालको गृहको २०र२० जनाको दुई टोली चीन भ्रमणमा छ । एक टोली ल्हासा तथा अर्को कुनमिङमा छ । विदेश भ्रमणमा पनि मन्त्रालयका सिनियर र एक पटक पनि विदेश नगएकालाई छाडेर पार्टीका निकटहरुलाई मात्र पठाइएको छ ।
गृहमन्त्री त राजनीतिक व्यक्ति भएर हल्ला मच्चाउने र पैसा कमाउन उनी व्यस्त छन् । गृहसचिव लोकदर्शन रेग्मीले समेत प्रशासनमा भएको चरम हस्तक्षेपमा साथ दिएको देख्दा गृहका कर्मचारीहरु चकित छन् । ‘यस्ता व्यक्ति मुख्यसचिव भयो भने देशमा के होला ?’ कर्मचारी जगतमा यो प्रश्न व्याप्त छ ।
साभार न्यूज अभियानबाट

प्रकाशित मिति : ७ भाद्र २०७४ बुधबार ००:००  ७ : ४४ बजे