२ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026

काँग्रेस नेता निधि कार्यबाहक सभापति, पाँच केन्द्रिय सदस्य मनोनित



काठमाडौँ, ७ भदौ ।
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी पूर्व महामन्त्री एवं केन्द्रीय सदस्य विमलेन्द्र निधिलाई तोक्नुभएको छ ।
भारतको पाँच दिने राजकीय भ्रमणका लागि आज नयाँदिल्ली प्रस्थान गर्नुभएका सभापति देउवाले भारतबाट फिर्ता नहुँदासम्मका लागि नेता निधिलाई कावा सभापति तोक्नुभएको पार्टी कार्यालयले जनाएको छ ।
त्यसैगरी सभापति देउवाले आजै नेपाली काँग्रेसको विधान, २०१७ (संशोधित र परिमार्जित) को धारा २१ (ठ) बमोजिम हरिप्रसाद नेपाल (पाल्पा) राधेचन्द्र यादव (बारा) र अमृत अर्याल (मोरङ) तथा विधानको धारा २१ (झ) बमोजिम ध्यानगोविन्द रञ्जित (काठमडौँ) लाई पार्टीको केन्द्रीय सदस्य पदमा मनोनयन गर्नुभएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
प्रधानमन्त्री एवं काँग्रेस सभापति देउवा काँग्रेस केन्द्रीय समितिको निर्णय बमोजिम केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, कमला पन्त, सुरेन्द्रराज पाण्डे हृदयराम थानी सदस्य रहेको पार्टी केन्द्रीय अनुशासन समिति समेत गठन गर्नुभएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा नयाँदिल्ली जानुभएका प्रधानमन्त्री देउवा पाँच दिने राजकीय भ्रमण सम्पन्न गरी यही भदौ ११ गते स्वदेश फर्किनुहुनेछ । रासस

 

प्रकाशित मिति : ७ भदौ २०७४ बुधबार ००:००  २ : १९ बजे